शताब्दीको अन्त्यसम्ममा विश्वका १८ प्रतिशत वनस्पति लोप हुने खतरा


प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार

area covered with green leafed plants

फोटो: क्रिस अब्नी/अनस्प्लास

जलवायु परिवर्तनका कारण यस शताब्दीको अन्त्यसम्ममा विश्वका परिचित प्राकृतिक परिदृश्यहरू पूर्ण रूपमा बदलिने खतरा बढेको छ। वैज्ञानिकहरूका अनुसार तीव्र गतिमा भइरहेको वातावरणीय परिवर्तनले वनस्पतिहरूको अनुकूल बासस्थान नष्ट गरिरहेको छ।

भर्खरै सार्वजनिक गरिएको एक अध्ययनमा अनुसन्धानकर्ताहरूले विश्वका ६७,००० भन्दा बढी ‘भास्कुलर’ (जसले जराबाट पानी र पोषक तत्व ओसार्छन्) वनस्पतिका प्रजातिहरूको भविष्यको अवस्थाबारे अध्ययन गरेका थिए। यो संख्या विश्वभर फेला पर्ने कुल भास्कुलर वनस्पतिको करिब १८ प्रतिशत हो।

अध्ययन प्रतिवेदनका अनुसार ७ देखि १६ प्रतिशत वनस्पतिले आफ्नो रैथाने बासस्थानको ९० प्रतिशतभन्दा बढी हिस्सा गुमाउने छन्, जसले गर्दा उनीहरू पूर्ण रूपमा लोप हुने उच्च जोखिममा पर्नेछन्।

यसरी संकटमा पर्न सक्ने प्रजातिहरूमा क्यालिफोर्नियाको दुर्लभ ‘क्याटालिना आइरनवुड’, ४० करोड वर्ष पुरानो इतिहास बोकेको ‘ब्लुइस स्पाइक-मस’ र अष्ट्रेलियाको पहिचान मानिने ‘युकेलिप्टस’ (मसला) का करिब एक तिहाइ प्रजातिहरू रहेका छन्। सन् २०८१ देखि २१०० सम्मको हरितगृह ग्यास उत्सर्जनको प्रक्षेपण र करोडौँ वनस्पतिका अवस्थितिको तथ्याङ्क विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो।

येल विश्वविद्यालयकी अनुसन्धानकर्ता जुन्ना वाङ र क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक सियाओली डोङका अनुसार जलवायु परिवर्तनले वनस्पतिहरूका लागि आवश्यक तापक्रम, वर्षा र माटोको उपयुक्त सन्तुलनलाई खलबलाइदिएको छ। सामान्यतया वनस्पतिहरू अनुकूल वातावरणको खोजीमा पुस्तौँ लगाएर बीउ वा बीजाणुका माध्यमबाट चिसो वा उचाइतर्फ सर्ने गर्छन्।

तर, यस अध्ययनले के देखाएको छ भने मानव निर्मित प्रयास बाट वनस्पतिलाई नयाँ ठाउँमा सारे पनि उनीहरूको अस्तित्व जोगाउन गाह्रो हुनेछ, किनकि समग्र पृथ्वीमै उनीहरू बाँच्न सक्ने उपयुक्त वातावरण द्रुत रूपमा खुम्चिँदै गइरहेको छ।

यस वातावरणीय फेरबदलका कारण कतिपय क्षेत्रमा वनस्पतिको विविधता बढे जस्तो देखिए पनि समग्र विश्वका लागि यो सकारात्मक संकेत होइन। वैज्ञानिकहरूका अनुसार पुराना प्रजाति हराउने र नयाँ प्रजाति भित्रिने क्रमले ‘नयाँ वनस्पति समुदाय’ को निर्माण हुनेछ, जसको आपसी अन्तरक्रिया कस्तो हुन्छ भन्ने कुरा अझै अज्ञात छ।

वनस्पतिले कार्बन सञ्चय गर्ने, माटो जोगाउने र मानव जीवनलाई आवश्यक खाद्यान्न तथा औषधि प्रदान गर्ने भएकाले वनस्पति नष्ट हुँदा कार्बन उत्सर्जन झन् बढ्ने र जलवायु परिवर्तनको संकट अझ गहिरिने एउटा डरलाग्दो चक्र सिर्जना हुने खतरा वैज्ञानिकहरूले औँल्याएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com