टेक्सासमा ६ हजार गैर-नागरिकको व्यावसायिक चालक अनुमति पत्र रद्द, नेपाली प्रभावित
प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार
एआई जेनेरेटेड फोटो
टेक्सास राज्यले कानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका गैर-अमेरिकी नागरिकहरूको “व्यावसायिक चालक अनुमति पत्र” धमाधम रद्द गर्न थालेपछि हजारौँको रोजगारी संकटमा परेको छ। ट्रम्प प्रशासनको नीतिलाई पछ्याउँदै टेक्सासले गैर-अमेरिकी नागरिकहरूलाई दिइएको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो। यो कदमले विशेष गरी ढुवानी व्यवसायमा आबद्ध आप्रवासीहरूमाझ अन्योल छाएको छ, जसमा नेपालीहरु पनि रहेका छन् ।
अमेरिकी यातायात मन्त्री सन पी. डफीले विदेशी चालकहरू सडक सुरक्षाका लागि खतरा भएको र अंग्रेजी भाषाको ज्ञान नहुँदा दुर्घटना बढेको दाबी गर्दै यो कारवाही सुरु गर्न निर्देशन दिएका थिए। टेक्सासको सार्वजनिक सुरक्षा विभागका अनुसार हालसम्म ६ हजार ४ सयभन्दा बढी लाइसेन्स रद्द भइसकेका छन् भने ३ हजार ३ सयभन्दा बढीको नवीकरण रोक्का गरिएको छ।
यो नीति विरुद्ध क्यालिफोर्निया र फ्लोरिडा जस्ता राज्यहरूमा कानुनी चुनौतीहरू पनि सुरु भएका छन्। अधिकारकर्मीहरूका अनुसार कुनै गल्ती वा दुर्घटनाको रेकर्ड बिना नै केवल आप्रवासी भएकै आधारमा लाइसेन्स खोस्नु अन्यायपूर्ण छ। यसले अमेरिकाको ढुवानी प्रणालीमा मात्र नभई हजारौँ परिवारको आर्थिक अवस्थामा समेत गम्भीर धक्का पुऱ्याउने निश्चित छ।
अमेरिकामा करिब ८०,००० ट्रक चालकहरूको अभाव भइरहेका बेला पनि व्यावसायिक चालक अनुमति पत्र ‘सीडीएल’ सम्बन्धी कडा नीतिका कारण देशभरका झण्डै २ लाख आप्रवासी चालकहरू यस व्यवसायबाट बाहिरिनु पर्ने अवस्था आउन सक्छ।





