हन्टाभाइरसको चपेटामा क्रुज जहाज: स्पेनबाट यात्रुहरूको उद्धार सुरु, ४२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार
मे १०, २०२६ मा खिचिएको यस तस्बिरमा स्पेनको टेनेरिफ टापुस्थित ग्रानाडिला बन्दरगाहमा हन्टाभाइरस प्रभावित क्रुज जहाज ‘एमभी होन्डियस’ (MV Hondius) देखिएको छ। स्पेनिस अधिकारीहरूले आइतबार उक्त हन्टाभाइरस प्रभावित क्रुज जहाजमा रहेका सबै यात्रु र चालक दलका केही सदस्यहरूलाई बाहिर निकाल्न र स्थानान्तरण गर्न एउटा अभियान सुरु गरेका छन्। यसअघि, उक्त जहाजले स्पेनको टेनेरिफ टापुको ग्रानाडिला बन्दरगाह नजिकै लंगर हालेको थियो। यो उद्धार कार्य आइतबार र सोमबारसम्म जारी रहने अपेक्षा गरिएको छ। (सिन्ह्वा/मेङ डिङ्बो)
स्पेनको क्यानरी टापुमा अड्किएको हन्टाभाइरस प्रभावित क्रुज जहाज ‘एमएस होन्डियस’बाट यात्रुहरूको उद्धार कार्य सुरु भएको छ। पहिलो चरणमा १४ जना स्पेनी नागरिकहरूलाई चार्टर्ड विमानमार्फत म्याड्रिड पठाइएको छ। उनीहरूलाई म्याड्रिड पुग्नेबित्तिकै सैन्य अस्पतालमा अनिवार्य क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विमानस्थलमा देखिएको दृश्य निकै भयावह र सतर्कतापूर्ण थियो। विमानमा चढ्नुअघि कर्मचारीहरूले सेतो ‘हाजम्याट सुट’ लगाएर यात्रुहरूलाई भर्याङमै केमिकलले स्प्रे गरेका थिए। स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले उद्धार कार्य सामान्य रूपमा अघि बढिरहेको र हालसम्म यात्रुहरूमा कुनै लक्षण नदेखिएको जानकारी दिएकी छीन।
आइतबार बिहानै ग्रेनाडिला बन्दरगाहमा जहाज आइपुगेपछि सेना र प्रहरीले कडा सुरक्षा घेरा हालेका थिए। जहाजमा पहिलो यात्रुको मृत्यु भएको एक महिनापछि मात्र यो उद्धार सम्भव भएको हो। फ्रान्सेली नागरिकहरू दोस्रो समूहमा बाहिरिने तयारीमा छन् भने नेदरल्याण्ड्सले डच, ग्रीक र जर्मन नागरिकहरूलाई लैजाने जिम्मेवारी लिएको छ। बेलायत, अमेरिका र अष्ट्रेलियाका लागि पनि छुट्टै उडानहरूको व्यवस्था गरिएको छ।
हन्टाभाइरसको लक्षण देखिन ९ हप्तासम्म लाग्न सक्ने भएकाले यात्रुहरूले निकै लामो समय आइसोलेसनमा बिताउनुपर्नेछ। विश्व स्वास्थ्य संगठनले अन्तिम पटक भाइरसको सम्पर्कमा आएको मितिदेखि ४२ दिनसम्म क्वारेन्टाइनमा बस्न सिफारिस गरेको छ। दुर्गम टापुमा रहेका केही बेलायती नागरिकहरूको सहयोगका लागि सेनाले प्यारासुटमार्फत औषधि र टोली पठाएर उद्धार गरिरहेको छ।





