अमेरिको डेनभर विमानस्थलको रनवेमा दुर्घटना,फ्रन्टियर एयरलाइन्सको ठक्करबाट एक व्यक्तिको मृत्यु


प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्तिको मृत्यु भएको छ। विमानस्थलको रनवेमा अनधिकृत रूपमा प्रवेश गरेका ती व्यक्तिलाई फ्रन्टियर एयरलाइन्सको विमानले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

लस एन्जलसका लागि उडान भर्न लागेको विमानसँग ठोकिँदा ती पैदल यात्रीको घटनास्थलमै ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

एयर ट्राफिक कन्ट्रोलको अडियो रेकर्डिङ अनुसार, विमान उडान भर्नै लाग्दा पाइलटले अचानक रनवेमा कोही व्यक्ति रहेको र विमानले ठक्कर दिएको जानकारी गराएका थिए। ठक्कर लगत्तै विमानको इन्जिनमा आगो देखिएको र क्याबिनभित्र धुवाँ भरिएको पाइलटले बताएका थिए।

विमानमा सवार २२४ यात्री र ७ चालक दलका सदस्यहरूलाई आपतकालीन ढोका मार्फत सुरक्षित बाहिर निकालिएको थियो। विमानस्थल प्रशासनका अनुसार १२ जनालाई सामान्य चोट लागेको छ भने घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि अस्पताल लगिएको छ।

विमानस्थल स्रोतका अनुसार, ती व्यक्तिले विमानस्थलको सुरक्षा घेरा नाघेर रनवेमा प्रवेश गरेका थिए। सुरक्षा घेरा नाघेको दुई मिनेटभित्रै यो दुर्घटना भएको थियो। ती व्यक्ति विमानस्थलका कर्मचारी नभई ‘घुसपैठिया’ भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड र फ्रन्टियर एयरलाइन्सले यस विषयमा विस्तृत अनुसन्धान सुरु गरेका छन्। अमेरिकी यातायात मन्त्री सिन डफीले पनि घटनाप्रति चासो व्यक्त गर्दै सुरक्षा कमजोरीबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। शनिबार बिहान ११ बजेदेखि उक्त रनवे पुनः सञ्चालनमा आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com