अमेरिकामा सात महिनामा २७ हजार बालबालिकाका अभिभावक पक्राउ
सन् २०२५ को पहिलो सात महिनामा मात्रै अमेरिकी सरकारले कम्तीमा २७ हजार बालबालिकाका अभिभावकहरूलाई पक्राउ गरेको छ। यसले गर्दा हजारौँ परिवारहरू विभाजित भएका छन् भने कैयौँ बालबालिकाहरू अभिभावकविहीन हुने अवस्थामा पुगेका छन्।
‘द गार्डियन’ले सरकारी रेकर्ड हरूको विश्लेषण गर्दै सार्वजनिक गरेको विवरणअनुसार, सन् २०२५ को पहिलो सात महिनामा १८ हजार ४ सय अभिभावकहरू पक्राउ परेका छन्। जसमा १५ हजार बुबा र ३ हजार आमाहरू रहेका छन्। तथ्याङ्कअनुसार ट्रम्प प्रशासनले प्रतिमहिना औसत २,३०० अभिभावकलाई पक्राउ र १,४०० जनालाई देशनिकाला गरिरहेको छ। यो संख्या सन् २०२४ को बाइडेन प्रशासनको तुलनामा झन्डै दोब्बर हो।
पक्राउ परेकामध्ये कम्तीमा १२ हजार बालबालिकाहरू अमेरिकी नागरिक हुन्। अभिभावकहरूलाई उनीहरूको मातृभूमि फिर्ता पठाउँदा बालबालिकाहरू अमेरिकाकै संरक्षण गृहमा पुग्ने जोखिम बढेको छ।
मानव अधिकारवादी संस्था राइसेजका अनुसार यो संकट सन् २०१८ को जीरो टोलरेन्स नीतिभन्दा पनि व्यापक छ। त्यतिबेला सीमामा परिवार अलग गरिन्थ्यो भने अहिले देशको भित्री भागमा बसोबास गरिरहेका, वर्षौँदेखि कर तिरिरहेका र कुनै आपराधिक रेकर्ड नभएका व्यक्तिहरूलाई पनि कार्यस्थल वा नियमित चेक–इनका क्रममा पक्राउ गरी परिवारबाट अलग गरिँदैछ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भने यी तथ्याङ्कहरूको आधिकारिकतामाथि प्रश्न उठाएको छ। सरकारी प्रवक्ताले डिटेन्सनमा बस्नु एक रोजाइ भएको र अभिभावकहरूले सरकारी एपमार्फत आफैँ देश छोड्न सक्ने तर्क दिएका छन्। तर, आफ्नो देशमा हिंसा र मृत्युको धम्की खेपिरहेका शरणार्थीहरूका लागि यो विकल्प नभई कालको मुखमा जानु सरह भएको अधिकारकर्मीहरूको दावी छ।





