ट्रम्पको अध्यागमन ‘क्र्याकडाउन’ ले उल्टै अमेरिकी नागरिककै घटायो रोजगारी
प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार
अमेरिकाको न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा चेरी फूल हेर्दै मानिसहरू। तस्वीर : झाङ फेङगुओ/सिन्ह्वा-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिले अमेरिकी नागरिकका लागि रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको भए पनि नयाँ अध्ययनले त्यसको ठीक विपरीत असर देखाएको छ। आप्रवासीमाथिको ‘क्र्याकडाउन’ ले अमेरिकी मूलका श्रमिकहरूको रोजगारीमा नै गिरावट ल्याएको निष्कर्ष सार्वजनिक भएको हो।
नेसनल ब्युरो अफ इकोनोमिक रिसर्च (एनबीईआर)द्वारा प्रकाशित कार्यपत्रअनुसार अध्यागमन नियन्त्रण निकाय इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को सक्रिय कारबाहीले विशेषगरी हाईस्कूलसम्म मात्र शिक्षा हासिल गरेका र निर्माण क्षेत्रमा कार्यरत अमेरिकी पुरुषहरूलाई प्रत्यक्ष असर गरेको छ। नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चद्वारा सार्वजनिक गरिएको उक्त अध्ययन युनिभर्सिटी अफ कोलोराडो बोल्डरकी सह–प्राध्यापक क्लो इस्ट र अनुसन्धान सहायक एलिजाबेथ कक्सले गरेका हुन्।
अध्ययनले ट्रम्प प्रशासनको दोस्रो कार्यकालमा अघि बढाइएको सामूहिक देशनिकाला अभियानले अमेरिकी श्रम बजारमा पारेको प्रभावको विश्लेषण गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार कागजातविहीन आप्रवासीहरूले अमेरिकी कामदारको रोजगारी खोस्छन् भन्ने तर्क तथ्यसँग मेल खाँदैन। बरु, आप्रवासी श्रमिकहरूले गर्ने कामले अमेरिकी कामदारको रोजगारीलाई सहयोग पुर्याइरहेको पाइएको छ।
उदाहरणका रूपमा निर्माण क्षेत्रलाई प्रस्तुत गर्दै अध्ययनमा भनिएको छ – “यदि सामान्य श्रमिकको अभाव भयो भने घर निर्माणकै काम रोकिन्छ। त्यसको असर स्वरूप त्यही क्षेत्रमा कार्यरत अमेरिकी मूलका इलेक्ट्रिसियन, रुफर तथा अन्य प्राविधिक श्रमिकले समेत काम गुमाउन सक्छन्।” अर्थात्, आप्रवासी श्रमिक हट्दा सम्पूर्ण उत्पादन शृंखला प्रभावित हुने निष्कर्ष अध्ययनले निकालेको छ।
अध्ययनले अर्को महत्वपूर्ण तथ्य पनि उजागर गरेको छ। आप्रवासी श्रमिकको संख्या घटेपछि अमेरिकी कामदारलाई आकर्षित गर्न रोजगारदाताले पारिश्रमिक बढाएको कुनै स्पष्ट प्रमाण भेटिएको छैन। बरु, श्रमिक अभावका कारण समग्र माग घट्दा बजार गतिविधि नै सुस्त बनेको देखिएको छ। द वाल स्ट्रिट जर्नलको विश्लेषणले समेत आप्रवासीहरूको उच्च उपस्थिति रहेका क्षेत्रमा ज्याला वृद्धिदर अन्य क्षेत्रको तुलनामा कम रहेको देखाएको छ।
अनुसन्धानमा हाल भइरहेको अध्यागमन कारबाहीलाई ‘अनियमित र जथाभावी’ प्रकृतिको भनिएको छ। यस्तो अवस्थाले आप्रवासी समुदायमा व्यापक त्रास सिर्जना गरेको र त्यसको असर स्थानीय अर्थतन्त्रसम्म पुगेको अध्ययनले उल्लेख गरेको छ। ‘चिलिङ इफेक्ट’ का कारण धेरै आप्रवासीहरू घरबाहिर निस्कन डराउने, व्यवसायिक गतिविधिमा कमी आउने तथा स्वास्थ्य सेवासम्म पहुँच घट्ने अवस्था देखिएको अध्ययनको दाबी छ।
यता ह्वाइट हाउसकी प्रवक्ता अबिगैल ज्याक्सनले भने प्रशासनको नीतिको बचाउ गरेकी छन्। उनका अनुसार ट्रम्प प्रशासनको प्राथमिकता अमेरिकी श्रमिकका लागि रोजगारी सिर्जना गर्नु र देशको अध्यागमन कानुनलाई कडाइका साथ लागू गर्नु हो। तर, सार्वजनिक भएका तथ्याङ्क र अध्ययनहरूले भने स्थानीय श्रम बजारमा गम्भीर अवरोध उत्पन्न भइरहेको संकेत गरेका छन् ।





