३४ वर्षपछि स्पिरिट एयरलाइन्स बन्द, हजारौँ यात्रु अलपत्र
प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार
अमेरिकी बजेट एयरलाइन्स स्पिरिट एयरलाइन्सले ३४ वर्षको सेवा यात्रापछि अचानक सम्पूर्ण उडान सेवा बन्द गर्ने घोषणा गरेसँगै हजारौँ यात्रुहरू अलपत्र परेका छन्। कम्पनीले टाट पल्टिएको जानकारी दिँदै तत्काल प्रभावबाट सबै उडानहरू रद्द गरेपछि यात्रुहरू गन्तव्यविहीन बनेका हुन्।
स्पिरिट बन्द भएपछि अन्य प्रमुख अमेरिकी एयरलाइन्सहरूले मर्कामा परेका यात्रुहरूलाई लक्षित गर्दै सहुलियत दरमा ‘रेस्क्यु फेयर’ उपलब्ध गराउन थालेका छन् । अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स, डेल्टा एयर लाइन्स, जेटब्लू एयरवेज, फ्रन्टियर एयरलाइन्स र साउथवेस्ट एयरलाइन्सले सस्तो दरमा टिकट बिक्री सुरु गरेका छन्।
साउथवेस्ट एयरलाइन्सले आगामी बुधबार (मे ६) सम्म विमानस्थलका टिकट काउन्टरमार्फत यस्तो सुविधा दिने जनाएको छ भने युनाइटेड एयरलाइन्सले अनलाइनमार्फत दुई सातासम्मका लागि विशेष बुकिङ खुला गरेको छ।
स्पिरिटले क्रेडिट वा डेबिट कार्डबाट टिकट बुक गरेका यात्रुहरूलाई स्वचालित रूपमा रकम फिर्ता गरिने दाबी गरेको छ। तर, तेस्रो पक्ष ट्राभल एजेन्सीमार्फत टिकट खरिद गर्ने यात्रुहरूले सम्बन्धित एजेन्सीसँगै सम्पर्क गर्नुपर्नेछ।
भाउचर वा प्वाइन्ट्स प्रयोग गरेर टिकट लिने यात्रुहरूको हकमा भने रिफन्ड प्रक्रिया केही जटिल र समय लाग्ने कम्पनीले जनाएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले यात्रुहरूलाई आफ्नो क्रेडिट कार्ड कम्पनीसँग सम्पर्क गरी ‘चार्जब्याक’ माग गर्न, ट्राभल इन्स्योरेन्स भए ‘सेवा अवरुद्ध’ शीर्षकमा दाबी गर्न र बुकिङ र भुक्तानीसम्बन्धी सबै प्रमाण सुरक्षित राख्न आग्रह गरेका छन्। नेशनल कन्ज्युमर्स लिगले पनि प्रमाण सुरक्षित राख्न विशेष अनुरोध गरेको छ।
स्पिरिट बन्द भएपछि अलपत्र परेका चालक दलका सदस्य तथा अन्य कर्मचारीहरूलाई पनि राहत व्यवस्था गरिएको छ। अमेरिकी एयरलाइन्सले कामका सिलसिलामा बाहिर रहेका कर्मचारीहरूलाई घर फर्कन निःशुल्क यात्रा सुविधा दिने र उनीहरूका लागि विशेष भर्ना (हायरिङ) कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
यस्तै, हर्ट्ज कार रेन्टलले सडकमार्गबाट घर फर्कन चाहनेहरूका लागि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ।





