अब बेलायत जान अझ महँगो ! भिसा र पासपोर्ट शुल्कमा व्यापक वृद्धिको प्रस्ताव
प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार
बेलायत सरकारले भिसा, नागरिकता तथा पासपोर्टसम्बन्धी शुल्कमा ठूलो वृद्धि गर्ने तयारी गरेको छ। ‘इमिग्रेसन, नेसनालिटी एण्ड पासपोर्ट्स (शुल्क) (संशोधन) नियमन २०२६’ अन्तर्गत सरकारले लगभग सबै प्रकारका आवेदन शुल्क बढाउने प्रस्ताव अघि सारेको हो।
उक्त नियम हाल हाउस अफ लर्ड्समा पेस भइसकेको छ। संसदले आगामी मे १२ सम्ममा कुनै आपत्ति नजनाएमा मे १३ देखि नयाँ शुल्क प्रणाली लागू हुने सम्भावना रहेको छ।
प्रस्तावित नयाँ दरअनुसार ‘स्किल्ड वर्कर’ भिसा शुल्क करिब ७ प्रतिशतले बढ्नेछ। त्यस्तै, इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) शुल्क २५ प्रतिशतले वृद्धि भई २० पाउन्ड पुग्नेछ।
यसैगरी, सर्टिफिकेट अफ स्पोन्सरसिपका लागि तत्काल निर्णय चाहने रोजगारदाताहरूले अब थप ५०० पाउन्ड ‘प्रायोरिटी’ शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सरकारले पुरानै शुल्कमा आवेदन दिन चाहनेहरूलाई मे १२ अगावै प्रक्रिया सुरु गर्न सुझाव दिएको छ, किनभने त्यसपछि नयाँ दर स्वतः लागू हुनेछन्।
संसदीय समितिहरूले प्रस्तावित शुल्क वृद्धि मुद्रास्फीति दरभन्दा पनि उच्च भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। व्यावसायिक संस्था ‘इन्स्टिच्युट अफ डाइरेक्टर्स’ लगायतले यो नीतिले विदेशी दक्ष कामदार भित्र्याउन कठिन हुने र केही कम्पनीहरू बेलायतबाट बाहिरिन बाध्य हुन सक्ने चेतावनी दिएका छन्।
सरकारले भने भिसा प्रणालीलाई आत्मनिर्भर बनाउन शुल्क वृद्धि आवश्यक रहेको दाबी गरेको छ। तर आलोचकहरूले उठेको रकम सेवा सुधारमा नभई अन्यत्र खर्च भइरहेको आरोप लगाइरहेका छन्।
यो प्रस्तावित वृद्धिपछि बेलायत जी–सेभेन राष्ट्रहरूमध्ये स्थायी बसोबासका लागि सबैभन्दा महँगो देश बन्ने देखिएको छ।
उदाहरणका लागि, चार सदस्यीय परिवारले ‘इन्डेफिनिट लिभ टु रिमेन’ का लागि अब ३,२२६ पाउन्ड शुल्क र थप २,५८७ पाउन्ड ‘इमिग्रेसन हेल्थ सरचार्ज’ तिर्नुपर्ने अनुमान गरिएको छ।
नयाँ शुल्क लागू हुने सम्भावनासँगै अहिले आवेदन दिन बाँकी रहेका व्यक्तिहरूका लागि यो समय अत्यन्त महत्वपूर्ण मानिएको छ। मे १२ अघि आवेदन प्रक्रिया सुरु गरे पुरानै दरमा सेवा लिन सकिने भएकाले धेरैले छिटो निर्णय लिनुपर्ने अवस्था बनेको छ।





