अमेरिकामा टोर्नाडो र आँधीको ताण्डव : ७० हजार घरधुरी अन्धकारमा, जनजीवन प्रभावित
प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार
तस्वीर : एएफपी
अमेरिकाको मिडवेस्ट क्षेत्रका विभिन्न राज्यहरूमा आएको शक्तिशाली टोर्नाडो र भीषण आँधीका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। ग्रेट लेक्स क्षेत्रदेखि टेक्साससम्म फैलिएको यस मौसमी प्रकोपले ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ भने हजारौँ स्थानीय बासिन्दा अहिले राहत, सरसफाइ र पुनःस्थापनाको प्रयासमा जुटिरहेका छन्।
अमेरिकाको नेसनल वेदर सर्भिसका अनुसार शनिबार दिउँसोदेखि रातिसम्म दक्षिणी मैदान, मिसिसिपी उपत्यका र ग्रेट लेक्स क्षेत्रका केही भागहरूमा पुनः भीषण आँधी, तीव्र हावा र गर्जनसहित वर्षा हुने सम्भावना रहेको चेतावनी जारी गरिएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रमा थप जोखिम उच्च रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन्।
हालसम्म इलिनोइ, मिसुरीलगायत मिडवेस्ट र ग्रेट लेक्स क्षेत्रका करिब ७० हजारभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन्। तीव्र हावाहुरीका कारण विद्युत् पोल ढल्ने, तार चुँडिने तथा संरचनागत क्षति भएपछि आपूर्ति अवरुद्ध भएको बताइएको छ।
शुक्रबार मिनेसोटाको रोचेस्टर शहरमा आएको शक्तिशाली टोर्नाडोले स्थानीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। स्थानीय बासिन्दा डेभिड भेट्चका अनुसार टोर्नाडोको आवाज ‘मालगाडी गुडिरहेको जस्तो’ अत्यन्तै डर लाग्दो थियो। उक्त आँधीले उनका ८९ वर्षीय वृद्ध पिताको घरमा समेत गम्भीर क्षति पुर्याए पनि सौभाग्यवश कुनै मानवीय क्षति भने भएको छैन।
रोचेस्टरमा अहिले स्थानीय बासिन्दा, स्वयंसेवक र आपतकालीन टोलीहरू मिलेर सडक, घर र सार्वजनिक क्षेत्रका भग्नावशेष हटाउने कार्यमा सक्रिय छन्। धेरै स्थानमा रुख ढलेका, घरका छाना उडेका र साना संरचनाहरू ध्वस्त भएका दृश्य देखिएका छन्।
त्यस्तै, सिकागोबाट करिब १२० माइल टाढा रहेको इलिनोइको लेना गाउँमा पनि टोर्नाडोले व्यापक विनाश मच्चाएको छ। तीव्र हावाका कारण ठूलो संख्यामा रुखहरू ढल्दा मुख्य सडकहरू अवरुद्ध भएका थिए। केही समयका लागि गाउँमा आवतजावतसमेत कठिन बनेको थियो।
स्थानीय विद्यालयहरूमा विद्यार्थीहरू उपस्थित रहेको समयमा आँधी आए पनि समयमै सतर्कता अपनाइएकाले कुनै पनि विद्यार्थी वा शिक्षकलाई चोटपटक नलागेको अधिकारीहरूले जनाएका छन्।
कान्सास सिटी र ओक्लाहोमा राज्यहरूमा पनि आँधीको प्रभाव देखिएको छ। यहाँ घरका छाना उड्ने, विद्युत् पोल ढल्ने तथा साना संरचनाहरू क्षतिग्रस्त हुने जस्ता घटना भएका छन्।
अधिकारीहरूले प्रभावित क्षेत्रका नागरिकलाई अनावश्यक यात्रा नगर्न, आपतकालीन सूचनाहरू पालना गर्न तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।





