अमेरिका र इरानबीच दुई साताको अस्थायी युद्धविराममा सहमति


प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार

अमेरिका र इरानले दुई हप्ताको अस्थायी युद्धविराममा सहमति गरेका छन्। यो सहमति पाकिस्तानको मध्यस्थतामा भएको बताइएको छ। सहमतिपछि तत्कालका लागि दुवै पक्षले सैन्य आक्रमण रोक्ने निर्णय गरेका छन्।

इरानले पनि यो अवधिमा आफ्ना सैन्य गतिविधि रोक्ने र स्ट्रेट अफ होर्मुजमार्फत जहाज आवतजावतलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ। इरानी सेनाले उक्त जलमार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने बताएको छ।

स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो, जहाँबाट ठूलो मात्रामा तेल र ग्यास ओसारपसार हुन्छ। यस मार्गलाई निर्बाध रूपमा सञ्चालन गर्नु नै युद्धविरामको मुख्य सर्त मानिएको छ।

यस दुई हप्ते युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौताको अवसरका रूपमा हेरिएको छ। यस अवधिमा दुवै पक्षबीच थप गहन वार्ता हुने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति ८ बजे इरानसँग दुई हप्ताको युद्धविराममा सहमति भएको जानकारी दिए। यो सहमति उनले यसअघि चेतावनी दिएको समयसीमा भन्दा करिब दुई घण्टा अगाडि नै भएको हो।

ट्रम्पले ‘ट्रुथ सोसल’मा लेख्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख (फिल्ड मार्सल) आसिम मुनिरसँग भएको वार्तापछि यो सहमति जुटेको बताएका हुन्।

ट्रम्पका अनुसार इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ, जसलाई वार्ताको ठोस आधारका रूपमा प्रयोग गर्न सकिने विश्वास गरिएको छ।

उनले भने, “विगतका अधिकांश विवादित विषयहरूमा अमेरिका र इरानबीच सहमति भइसकेको छ, तर अन्तिम सम्झौतालाई टुङ्गोमा पुर्‍याउन यो दुई हप्ताको अवधि आवश्यक हुनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com