मार्चको अन्त्यमा अवकाश लिँदै ट्रम्पको आप्रवासन अभियानका अधिकारी ग्रेगरी बोभिनो 


प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

अमेरिकी बोर्डर पेट्रोलका वरिष्ठ अधिकारी ग्रेगरी बोभिनोले मार्च महिनाको अन्त्यमा अवकाश लिने घोषणा गरेका छन्। उनले मंगलबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफ्नो निर्णयको पुष्टि गरेका हुन्। यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नियन्त्रण अभियानका एक प्रमुख अनुहारको औपचारिक बहिर्गमन हुने भएको छ।

५५ वर्षीय बोभिनोले लस एन्जलस, शिकागो लगायतका प्रमुख अमेरिकी सहरहरूमा आक्रामक आप्रवासन छापा अभियानको नेतृत्व गरेका थिए। उनको कार्यकालमा सीमा गस्ती एजेन्टहरूले बस्तीहरूमा छापा मार्दा स्थानीय बासिन्दासँग झडप समेत भएको थियो, जसले व्यापक विवाद निम्त्याएको थियो।

एक अन्तर्वार्तामा बोभिनोले आफ्नो सेवाकाललाई “जीवनकै सबैभन्दा ठूलो सम्मान” भन्दै कठिन परिस्थितिमा काम गरेको अनुभव साझा गरेका थिए। तर, उनले अहिले अवकाश लिनुको कारणबारे भने खुलाउन चाहेनन्।

यसैबीच, ट्रम्प प्रशासनको आप्रवासन नीति जनवरी महिनामा मिनियापोलिसमा दुई अमेरिकी नागरिकको गोली लागेर मृत्यु भएपछि झन् विवादमा तानिएको थियो। प्रारम्भमा प्रशासनले पीडितहरूलाई नै दोषी ठहर्याउने प्रयास गरे पनि भिडियो प्रमाणहरूले ती दाबीहरू कमजोर बनाएका थिए।

रोयटर्स/इप्सोस सर्वेक्षणअनुसार ट्रम्पको आप्रवासन नीतिप्रति जनसमर्थन पछिल्लो समय घट्दै गएको देखिएको छ। विशेष गरी सहरहरूमा कडा अभियान सञ्चालन गर्दा विरोध र कानुनी चुनौतीहरू बढेका छन्।

यसै सन्दर्भमा ट्रम्पले अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमलाई पदबाट हटाउँदै ओक्लाहोमाका रिपब्लिकन सिनेटर मार्कवेन मुलिनलाई नयाँ मन्त्रीका रूपमा मनोनयन गरेका छन्।

बोभिनोलाई जनवरीमै ‘कमाण्डर(एट(लार्ज’ पदबाट हटाइएको थियो। त्यसपछि मिनेसोटा अभियानको जिम्मेवारी टम होमनलाई दिइएको थियो, जसलाई पछि सीमित गरिएको थियो।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)का अनुसार बोभिनोले अझै औपचारिक रूपमा अवकाशको प्रक्रिया पूरा गरेका छैनन्। उनी नर्थ क्यारोलिनामा हुर्किएका हुन् । उनले आफ्नो कार्यकालमा व्यक्तिगत जीवनका केही गतिविधिहरू(जस्तै भालुको सिकार र स्याउ टिप्ने) छुटेको महसुस गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com