अमेरिकी सीमा सुरक्षा गार्डको गोलीप्रहारबाट बाँचेकी महिलाद्वारा अमेरिकी सरकारविरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार

Photo: Sasun Bughdaryan/Unsplash

अमेरिकी सीमा सुरक्षा अधिकारीको पाँच वटा गोली लागेर पनि जीवित रहेकी एक महिलाले अमेरिकी सरकारविरुद्ध सङ्घीय नागरिक मुद्दा दर्ता गराएकी छन्। पीडित महिलाका वकिलहरूका अनुसार प्राप्त नयाँ प्रमाणले गोली प्रहार गर्ने एजेन्टको ज्यान कुनै खतरामा नरहेको पुष्टि गर्दछ।

मन्टेसोरी विद्यालयकी शिक्षिका मारिमार मार्टिनेजलाई गत वर्ष अक्टोबरमा ‘अपरेसन मिडवे ब्लिट्ज’ नाम दिइएको सामूहिक अध्यागमन कारबाहीका क्रममा बोर्डर पेट्रोल एजेन्ट चार्ल्स एक्समले गाडीभित्रै गोली हानेका थिए। घाइते भएकी मार्टिनेजले ‘फेडरल टोर्ट क्लेम्स एक्ट’अन्तर्गत सङ्घीय सरकारविरुद्ध मुद्दा हालेकी हुन्। नियमअनुसार सर्वसाधारणले सङ्घीय एजेन्टलाई सिधै मुद्दा हाल्न नपाउने भएकाले सरकारलाई विपक्षी बनाइएको हो।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मार्टिनेजका वकिल माइकल ग्यालाघेरले भने, “वास्तविकता के हो भने त्यो गोलीप्रहार बिल्कुलै न्यायोचित थिएन। यसले गर्दा उनले ज्यानै गुमाउनुपर्ने स्थिति आएको थियो।”

वकिलहरूले एजेन्ट एक्सममाथि आपराधिक अभियोग दर्ता गर्न जस्टिस डिपार्टमेन्ट र स्थानीय सरकारी वकीलहरूलाई आग्रह गरेका छन्।

वकिल क्रिष्टोफर पारेन्टेका अनुसार घटनास्थलको विश्लेषण र प्राविधिक अनुसन्धानले गोली चलाउने समयमा एजेन्ट एक्समको ज्यान कुनै पनि किसिमको खतरामा नरहेको स्पष्ट पारेको छ। अनुसन्धानबाट प्राप्त नयाँ प्रमाण अनुसार मारिमार मार्टिनेजले एजेन्टलाई गाडीले हान्न खोजेकी थिइनन्, बरु उनी गाडी मोडेर उनीबाट टाढा जाने प्रयास गरिरहेकी थिइन्।

यसैगरी, कारमा लागेका गोलीका दाग, मार्टिनेजको शरीरमा परेका घाउ र सिसीटिभी फुटेजको आधारमा गरिएको घटनाको नक्सांकनले पनि एजेन्ट एक्सम गाडीको अगाडि नभई पछाडिपट्टि उभिएका थिए भन्ने पुष्टि गर्छ। कारको पछाडिको सिटको छेउबाट एउटा गोली भित्र छिरेको पाइएकाले, एजेन्ट गाडीको अगाडि उभिएर प्रतिरक्षामा गोली चलाएको भन्ने सङ्घीय अधिकारीहरूको दाबी पूर्ण रूपमा असत्य साबित भएको छ।

घटनापछि सुरुमा मार्टिनेज र अर्का एक व्यक्तिमाथि सङ्घीय अधिकारीलाई गाडीले हान्न खोजेको झुटा अभियोग लगाइएको थियो। तर, एजेन्ट एक्समले आफ्ना सहकर्मीहरूसँग म्यासेज ग्रुपमा गोलीप्रहारबारे घमण्ड गर्दै लेखेका सन्देशहरू सार्वजनिक भएपछि र नयाँ भिडियो बाहिरिएपछि सरकारी वकीलहरूले अभियोग फिर्ता लिएका थिए।

एजेन्ट एक्समले आफ्ना साथीहरूलाई म्यासेजमा लेखेका थिए: मैले ५ राउण्ड गोली चलाएँ र उसको शरीरमा ७ वटा प्वाल परे। यसलाई आफ्नो डायरीमा लेखि राख केटाहरू।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दा दायर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै मार्टिनेजले भनिन्, “अहिले हामी नागरिक अदालतको प्रक्रिया अगाडि बढाउने र शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त हुनेतर्फ ध्यान दिइरहेका छौँ। यस्ता घटना सामान्य होइनन् र यसलाई सामान्य रूपमा लिनु पनि हुँदैन।”

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नियमअनुसार एजेन्ट एक्समलाई प्रशासनिक बिदामा राखिएको जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com