अमेरिकाको युटामा ट्राफिक चेकिङपछि ५ जना आइसको नियन्त्रणमा, स्थानीय समुदाय र विद्यालयमा त्रास
प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार
फोटो: होमल्याण्ड सेक्युरिटी
साढे आठ दशकभन्दा बढी समयदेखि मरुभूमि क्षेत्रको सानपेटे काउन्टीस्थित सानो कृषि शहर मोरोनीको दैनिकीमा टर्की प्रशोधन केन्द्र एउटा मुख्य आधार बनेको छ। पिटम्यान फार्म्सको ‘नोर्बेस्ट’ ब्राण्डअन्तर्गत सञ्चालित यस उद्योगले करिब १५ सय जनसङ्ख्या भएको यस शहरका कैयौँ पुस्तालाई रोजगारी र जीविकोपार्जनको माध्यम दिँदै आएको छ।
तर, गत बुधबार राति काम सकेर घर फर्किने क्रममा अध्यागमन एजेन्टहरूले मानिसहरूलाई रोक्न थालेपछि शहरभर एकाएक त्रास र अन्यौल फैलिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योगबाट बाहिरिएका कामदारहरूलाई लक्षित गरी अध्यागमन एजेन्टहरूले परिचीत तथा अपरिचीत गाडीहरू परिचालन गरेका थिए। कारबाही यति अचानक थियो कि एक कामदारले पक्राउ पर्ने डरले भवनको छतमा चढेर तल भइरहेको गतिविधि नियालेका थिए।
नर्थ भ्याली प्रहरी विभागका उप-प्रमुख लन लुडविगसनका अनुसार उक्त रातिको कारबाहीमा अमेरिकी आइसले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
तथापि, अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले शुक्रबार प्रतिक्रिया दिँदै टर्की उद्योगलाई नै लक्षित गरेर कुनै निश्चित अध्यागमन कारबाही नगरिएको दाबी गरेका छन्। उप-प्रमुख लुडविगसनका अनुसार आइसका एजेन्टहरू नर्थ भ्याली प्रहरी अधिकारीहरूसँगै नियमित ट्राफिक चेकिङमा खटिएका थिए। हेडलाइट बिग्रिएको, नम्बर प्लेटको बत्ती नबलेको वा तीव्र गतिमा सवारी चलाएको जस्ता सामान्य सवारी नियम उल्लङ्घनमा गाडीहरू रोकिएका थिए।
“उनीहरूले त्यस राति धेरै गाडीहरू रोकेका थिए, तर कुनै निश्चित व्यक्ति वा व्यवसायलाई लक्षित गरिएको थिएन,” लुडविगसनले भने। पक्राउ परेका पाँचै जनालाई सुरुमा स्थानीय प्रहरी कार्यालय लगिएको र पछि आइसको जिम्मा लगाइएको थियो।
नर्थ भ्याली र गनिसन भ्याली प्रहरी विभागले गत अगस्ट महिनामा आइससँग २८७(जी) ‘टास्क फोर्स मोडल’ सम्झौतामा हस्ताक्षर गरेका थिए। युटा राज्यमा यस्तो प्रकारको अधिकार प्राप्त गर्ने यी दुई सहित तीन वटा मात्रै प्रहरी विभाग छन्। यो सम्झौताले स्थानीय प्रहरी अधिकारीहरूलाई आफ्नो नियमित ड्युटी वा ट्राफिक चेकिङका क्रममा पनि अध्यागमनसम्बन्धी अनुसन्धान गर्ने र पक्राउ गर्ने अधिकार प्रदान गर्दछ।
यस घटनापछि मोरोनीको हिस्पैनिक समुदायमा तीव्र भय सिर्जना भएको छ। कानुनी रूपमा बसोबास गरिरहेका मानिसहरू समेत चेकिङको डरले घरबाहिर निस्कन छाडेका छन्। मानिसहरूले खाद्यान्न पसल जान छोडेका छन् भने मुख्य सडकहरू सुनसान बनेका छन्।
भयको यो वातावरणले स्थानीय विद्यालयहरूलाई पनि प्रत्यक्ष असर पारेको छ। नर्थ सानपेटे स्कूल डिस्ट्रिक्टका सुपरिवेक्षक ओ-डी ह्यान्सनका अनुसार बिहीबार र शुक्रबार विद्यार्थीहरूको उपस्थितिमा उल्लेख्य कमी आएको थियो। नर्थ सानपेटे मिडल स्कूलका ४०० मध्ये करिब ८० जना र मोरोनी एलिमेन्ट्री स्कूलका ५६ जना विद्यार्थी अनुपस्थित रहे।
पक्राउ परेका पाँच जनामध्ये एक जना आफ्नै अभिभावक भएको एक विद्यार्थीले जानकारी दिएका छन्। अध्यागमन नियोगको यो उपस्थिति र धरपकडले बालबालिका तथा परिवारहरूमा मानसिक तनाव थपेको स्थानीय बासिन्दाहरूले बताएका छन्।





