देश छोड्ने प्रयास गरेपछि युक्रेनका पूर्व ऊर्जामन्त्री पक्राउ


प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार

देश छोड्ने प्रयास गरिरहेका बेला युक्रेनका पूर्व ऊर्जामन्त्री जर्मन गालुश्चेन्को पक्राउ परेका छन्। रेलमार्फत युक्रेनबाट बाहिरिन खोजिरहेका बेला उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्। उनी कहाँ जान लागेका थिए भन्नेबारे स्पष्ट जानकारी भने दिइएको छैन।

युक्रेनको राष्ट्रिय भ्रष्टाचार नियन्त्रण ब्युरोले पूर्व मन्त्रीलाई राज्यको सिमाना पार गर्ने क्रममा पक्राउ गरिएको जनाएको छ। ‘अपरेशन मिडास’ नाम दिइएको र १५ महिनासम्म चलेको अनुसन्धानपछि यो कारबाही गरिएको हो।

गत नोभेम्बरमा सार्वजनिक भएको करिब १० करोड अमेरिकी डलर बराबरको भ्रष्टाचार प्रकरणमा उनको नाम मुछिएको थियो। उक्त प्रकरणमा ऊर्जा क्षेत्रसँग सम्बन्धित उच्च पदस्थ अधिकारीहरू संलग्न रहेको आरोप छ।

यो काण्डले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारमाथि दबाब बढाएको छ। रुसको पूर्णकालीन आक्रमणअघि भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासहित सत्तामा आएको सरकारले युद्धका बीचमा यस्तो आरोप सामना गर्नु परिरहेको छ।

राष्ट्रपतिका प्रमुख सहयोगी आन्द्रिय यर्माकले समेत घरमा छापा मारिएपछि पदबाट राजीनामा दिएका थिए। यद्यपि राष्ट्रपति वा यर्माकमाथि प्रत्यक्ष रूपमा कुनै आरोप लगाइएको छैन।

अनुसन्धान निकायका अनुसार ऊर्जा क्षेत्र, विशेषगरी राष्ट्रिय आणविक ऊर्जा कम्पनीमा ठेक्का प्रक्रियामार्फत ठूलो रकम हिनामिना गरिएको थियो। केही अधिकारीहरूले ठेकेदारबाट सम्झौता रकमको १० देखि १५ प्रतिशतसम्म कमिसन लिएको आरोप छ। हिनामिना गरिएको रकम रुससहितका विदेशी मुलुकमा पठाइएको दाबी गरिएको छ।

गालुश्चेन्कोले भने आफू निर्दोष रहेको बताउँदै कानुनी रूपमा प्रतिरक्षा गर्ने जनाएका छन्। यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री ओलेक्सीय चेर्निशोभ पनि ‘अवैध सम्पत्ति आर्जन’ को आशङ्कामा पक्राउ परेका छन्।

रुसले जाडो मौसमअघि युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाइरहेका बेला ऊर्जा क्षेत्रमै भ्रष्टाचार भएको आरोप सार्वजनिक हुनु देशभित्र व्यापक आक्रोशको कारण बनेको छ। युक्रेनमा लामो समयदेखि भ्रष्टाचार समस्याका रूपमा रहँदै आएको छ। भ्रष्टाचार नियन्त्रण गर्नु युरोपेली संघमा सदस्यता प्राप्तिका लागि प्रमुख सर्त मानिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com