ट्रम्पको हत्या प्रयास गर्ने राउथलाई आजीवन कारावासको सजाय


प्रकाशित मिति : माघ २१, २०८२ बुधबार

राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोग लागेका व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ। ५९ वर्षीय रायन राउथलाई सन् २०२४ सेप्टेम्बरमा फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा अदालतले आजीवन कारावासको सजाय तोकेको हो।

राउथलाई गत वर्ष फ्लोरिडाको वेस्ट पाम बीचस्थित ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई मार्ने प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको हो।

घटनाका बेला त्यहाँ तैनाथ एक अमेरिकी सिक्रेट सर्भिस एजेन्टले झाडीभित्रबाट राइफलको नाल बाहिर निस्किएको देखेपछि गोली चलाएका थिए। त्यसपछि राउथ घटनास्थलबाट फरार भएका थिए, तर नजिकैबाट उनी पक्राउ परेका थिए।

सजायसम्बन्धी आदेशमा न्यायाधीश एलीन क्याननले राउथका अपराधहरू “निसन्देह आजीवन सजाय योग्य” भएको उल्लेख गरेकी छन्। राउथका वकिल मार्टिन रसले यस मुद्दाको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राउथले आफू निर्दोष रहेको दाबी गर्दै मुद्दाको सुनुवाइका क्रममा आफैँले आफ्नो पक्ष राख्ने निर्णय गरेका थिए। सेप्टेम्बर ८ बाट सुरु भएको सुनुवाइमा उनी अदालतमा बारम्बार असामान्य व्यवहार देखाउँदै आएका थिए।

राउथ उत्तर क्यारोलिनाका स्थायी बासिन्दा हुन्। तर गिरफ्तारीअघि हवाईमा बस्दै आएका राउथले सुनुवाइका क्रममा ट्रम्पलाई गल्फ खेल्न चुनौती दिने, एडोल्फ हिटलर र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन्दर्भ उठाउनेजस्ता व्यवहार गरेका थिए।

जुरीले दोषी ठहर गरेपछि राउथले कलम प्रयोग गरेर आफ्नै घाँटीमा घोच्ने प्रयास गरेका थिए। त्यसपछि अमेरिकी मार्शलहरूले उनलाई तुरुन्तै अदालत कक्षबाट बाहिर निकालेका थिए।

यद्यपि घटनाका बेला राउथको ट्रम्पमाथि प्रत्यक्ष दृष्टि परेको स्पष्ट प्रमाण नभए पनि, संघीय एजेन्टहरूले उनले लुकेको स्थानबाट स्कोप र विस्तारित म्यागजिनसहितको अर्धस्वचालित राइफल बरामद गरिएको जानकारी जुरीलाई दिएका थिए।

ट्रम्प देखिन सक्ने सम्भावित स्थानहरूको सूची र एक साथीका लागि लेखिएको नोट अधिकारीहरूले फेला पारेका थिए। उक्त नोटमा घटनालाई “हत्या प्रयास” भनेर उल्लेख गरिएको थियो।

मुद्दाको अन्तिम बहसका क्रममा राउथले अमेरिकी इतिहास, रुस–युक्रेन युद्ध र आफूले डुङ्गा किन्ने योजनाजस्ता असम्बन्धित विषय उठाएका थिए। यसका कारण न्यायाधीशले पटक–पटक उनलाई रोक्दै जुरीलाई अदालत कक्षबाट बाहिर पठाएकी थिइन्।

फ्लोरिडाको यो घटना सन् २०२४ मा ट्रम्पमाथि भएको दोस्रो हत्या प्रयास थियो। यसअघि जुलाईमा पेन्सिल्भेनियाको बटलरमा आयोजित एक चुनावी सभामा गोली चलाइएको थियो। त्यस घटनामा एक जनाको मृत्यु भएको थियो र ट्रम्पसहित धेरै जना घाइते भएका थिए। आक्रमणकारी २० वर्षीय थोमस क्रुक्सलाई घटनास्थलमै सुरक्षाकर्मीहरूले गोली हानी मारिदिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com