अमेरिका-इरान तनाव: अमेरिकी सेनाद्वारा इरानी ड्रोन ध्वस्त
प्रकाशित मिति : माघ २०, २०८२ मंगलबार
अमेरिकाले इरानी ड्रोनलाई ध्वस्त पारेको छ। अरब सागरमा अमेरिकी विमानवाहक युद्धपोततर्फ “आक्रामक रूपमा नजिकिँदै आएको” एउटा इरानी ड्रोन खसालिएको अमेरिकी सेनाले जनाएको छ।
यूएस सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार ‘अब्राहम लिंकन’ युद्धपोतबाट उडेको स्टेल्थ फाइटर जेटले उक्त ड्रोनलाई “आत्मरक्षाका लागि” खसालेको हो। विमानवाहक पोत र त्यहाँ रहेका कर्मचारीहरूलाई सुरक्षित राख्न ड्रोन खसालिएको अमेरिकी सेनाको भनाइ छ।
ड्रोन नजिकिँदा उक्त जहाज इरानको तटबाट करिब ५०० माइल टाढा थियो। सेनाले ड्रोनको “उद्देश्य स्पष्ट नभएको” बताएको छ। यस घटनामा कुनै पनि अमेरिकी सैन्य उपकरणमा क्षति नपुगेको र कुनै पनि सैनिक घाइते नभएको दाबी गरिएको छ।
यो घटना अमेरिका र इरानबीच तनाव उच्च रहेको र अमेरिकाले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा वार्ता नगरे सैन्य कारबाही गर्ने चेतावनी दिइसकेका छन्। उनले इरानमा सरकारविरोधी प्रदर्शनमाथि भएको घातक दमनका बेला हस्तक्षेपको सम्भावना समेत उठाएका थिए।
ड्रोन खसालिएको घटनापछि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिका र इरानबीचको वार्ताको ढोका अझै बन्द नभएको बताइन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले यसअघि इरानमाथि कुनै पनि आक्रमण भए “क्षेत्रीय युद्ध” सुरु हुने चेतावनी दिएका थिए। ड्रोन खसालिएको विषयमा इरानले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।
अमेरिकाले गत वर्ष इरानमाथि गरिएको अमेरिकी आक्रमणको स्मरण पनि गराउँदै आएको छ। त्यसबेला ट्रम्पले इरानका आणविक संवर्धन केन्द्रहरू “पूर्ण रूपमा नष्ट” भएको दाबी गरेका थिए। उनले नयाँ आक्रमण भए त्यो “झन् भयावह” हुने चेतावनी दिएका छन्। ती हवाई आक्रमणहरू गत जुनमा इजरायल र इरानबीच भएको १२ दिने युद्धका क्रममा गरिएका थिए।
इजरायली सेनाले पनि इरानका आणविक केन्द्रहरू, वैज्ञानिकहरू, सैन्य कमान्डरहरू र मिसाइल भण्डारहरूलाई लक्षित गरेको थियो। त्यसको प्रत्युत्तरमा इरानले इजरायलतर्फ सयौँ मिसाइल र ड्रोन प्रहार गरेको थियो। उसले कतारमा रहेको अमेरिकी प्रमुख हवाई अड्डामाथि पनि मिसाइल आक्रमण गरेको थियो।
इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको र आणविक हतियार विकास गर्न खोजिरहेको आरोपलाई अस्वीकार गर्दै आएको छ।






