अमेरिकाको मेन राज्यमा आइसको छापा: १०० भन्दा बढी पक्राउ
प्रकाशित मिति : माघ १८, २०८२ आईतबार
फोटो : एपी/रासस
अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) ले मेन राज्यमा सुरु गरेको कारबाहीको पहिलो दिनमै १०० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार पक्राउ परेकाहरूमध्ये केही खतरनाक अपराधीहरू समेत रहेका छन्।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सहायक मन्त्री ट्रिसिया म्याकलफलिनले कारबाहीको पहिलो दिन पक्राउ परेकाहरूमा आपराधिक पृष्ठभूमि भएका कागजातविहीन आप्रवासीहरू रहेको जानकारी दिइन्। पक्राउ परेकामध्ये केही व्यक्तिहरू जघन्य अपराधमा दोषी ठहर भइसकेका समेत रहेको डीएचएसले जनाएको छ।
एजेन्सीले हालै एउटा वेबसाइट समेत सञ्चालनमा ल्याएको छ, जसमा प्रशासनको सामूहिक देशनिकाला अभियानअन्तर्गत आइस ले पक्राउ गरेका “सबैभन्दा खतरनाक आपराधिक आप्रवासीहरू” को विवरण राखिएको छ।
पोर्टल्यान्डको एक सुधार गृह का प्रशिक्षार्थी अधिकारीलाई समेत संघीय टोलीले पक्राउ गरेपछि यो विषय थप विवादित बनेको छ। कम्बरल्याण्ड काउन्टीका शेरिफ केभिन जोइसका अनुसार ती व्यक्ति कुनै पनि आपराधिक गतिविधिमा संलग्न थिएनन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ती व्यक्तिले पक्राउ पर्ने क्रममा “म सुधार गृहको अधिकारी हुँ” भन्दै एजेन्टहरूसँग कुरा गरिरहेको देखिन्छ।
भिडियो खिच्ने बेन बोजम्यानका अनुसार ती व्यक्तिलाई पहिचान नखुलेको सवारीसाधनले रोकेको थियो। बोजम्यान भन्छन्, “५ देखि ७ जना एजेन्टहरूले उनको कारको ढोका घेरेर जबर्जस्ती बाहिर निकाले। उनले आफू शेरिफ विभागमा काम गर्ने बताए पनि एजेन्टहरूले टेजर प्रयोग गर्ने धम्की दिएका थिए।”
शेरिफ जोइसले बताएअनुसार ती प्रशिक्षार्थीसँग सन् २०२९ को अप्रिलसम्म अमेरिकामा कानुनी रूपमा काम गर्न पाउने अनुमति पत्र थियो। उनले विभागको कडा छनोट प्रक्रिया समेत पार गरेका थिए। तर, आइस ले भने ती व्यक्ति अवैध रूपमा बसिरहेको दाबी गरेको छ। हाल ती व्यक्ति संघीय हिरासतमा छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन।
शेरिफ जोइसका अनुसार पोर्टल्यान्डका सडकमा देखिएको यो दृश्य राष्ट्रपति डोनाल्ड ट्रम्पका सीमा मामिला प्रमुख टम होमनले सन् २०२५ को सुरुवातमा व्यक्त गरेको प्रतिबद्धताभन्दा फरक छ। होमनले मुख्य लक्ष्य सीमा सुरक्षा र अपराधीहरूलाई हटाउनु रहेको बताएका थिए।
यसैबीच, डेमोक्रेटिक मेयर्स एसोसिएसनले मिनियापोलिसका मेयर ज्याकोब फ्रेलाई सहयोग गर्न कानुनी कोष स्थापना गरेको छ। न्याय मन्त्रालयले संघीय आप्रवासन एजेन्टहरूको काममा अवरोध पुर्याउन षड्यन्त्र गरेको आरोपमा मेयर फ्रे विरुद्ध आपराधिक अनुसन्धान सुरु गरेपछि यो कदम चालिएको हो।






