जर्जियाको निर्वाचन कार्यालयमा एफबीआईको छापा, महत्त्वपूर्ण कागजातहरू बरामद
प्रकाशित मिति : माघ १४, २०८२ बुधबार
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जर्जियास्थित निर्वाचन कार्यालयमा छापा मारेको छ। सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदाता ठगी भएको आरोपबारे छानबिन गरिरहेको एफबीआईले सो निर्वाचन कार्यालयमा छापा मारेको हो।
एफबीआईले फुल्टन काउन्टी निर्वाचन केन्द्रमा “अदालतबाट स्वीकृत कानुनी गतिविधि” सञ्चालन गरिएको जनाउँदै छापा मारिएको पुष्टि गरेको छ। फुल्टन काउन्टीका अधिकारीहरूले पनि सरकारी वारेन्टमार्फत २०२० को निर्वाचनसँग सम्बन्धित केही अभिलेखहरू माग गरिएको बताएका छन्।
सन् २०२० को निर्वाचनमा डोनाल्ड ट्रम्प जर्जिया राज्य र सबैभन्दा धेरै जनसङ्ख्या भएको फुल्टन काउन्टी दुवै क्षेत्रमा जो बाइडेनसँग पराजित भएका थिए। ट्रम्पले आफ्नो हार ‘मतदाता ठगी’ का कारण भएको दाबी गर्दै आएका छन्, तर हालसम्म यस दाबीको कुनै ठोस प्रमाण पुष्टि हुन सकेको छैन।
न्याय मन्त्रालयले डिसेम्बरमा फुल्टन काउन्टीका अधिकारीहरूविरुद्ध मुद्दा दायर गर्दै २०२० को निर्वाचनसँग सम्बन्धित सामग्रीहरू माग गरेको थियो। छापा मार्ने क्रममा एफबीआईको ज्याकेट लगाएका एजेन्टहरू निर्वाचन कार्यालयभित्र आउजाउ गरिरहेको र सामग्रीहरू ट्रकमा लोड गरिरहेको देखिएको थियो। केही स्थानीय अधिकारीहरूले भने यस किसिमको छापाप्रति आक्रोश व्यक्त गरेका छन्।
सन् २०२० को निर्वाचनमार्फत १९९२ पछि पहिलो पटक जर्जियामा डेमोक्र्याट उम्मेदवारले जित हासिल गरेका थिए। त्यसअघि अन्तिम पटक बिल क्लिन्टनले उक्त दक्षिणी राज्य जितेका थिए। जर्जियामा २०२० को निर्वाचन परिणाम अत्यन्तै न्यून मतान्तरका कारण ढिलो गरी घोषणा गरिएको थियो। अधिकांश अन्य राज्यहरूमा नतिजा पहिल्यै सार्वजनिक भइसकेको थियो।
जो बाइडेनलाई जर्जियामा पुनः गणना हुनुअघि नै राष्ट्रपतिको विजेता घोषित गरिएको थियो। पछि मत अन्तर निकै कम भएकाले हातैले पुनः गणना गर्दा अन्ततः बाइडेन करिब १२,००० भन्दा बढी मतको अन्तरले विजयी भएको देखिएको थियो।
डिसेम्बरमा दायर गरिएको मुद्दाअनुसार, न्याय मन्त्रालयले “फुल्टन काउन्टीको २०२० को आम निर्वाचनमा प्रयोग भएका तथा रद्द गरिएका सबै मतपत्र, मतपत्रका स्टबहरू, हस्ताक्षर गरिएका खामहरू र ती खामसँग सम्बन्धित डिजिटल फाइलहरू” मा पहुँच माग गरेको थियो।






