चार्टर विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री पवारसहित ५ जनाको मृत्यु
प्रकाशित मिति : माघ १४, २०८२ बुधबार
तस्वीर : रासस
भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधवार बिहान बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार सबै ५ जनाको मृत्यु भएको हो ।
बुधवार बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ । दुर्घटना स्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।
अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सप्रिया सुलेका काकाको छोरा थिए । उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए ।
पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ । विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।






