हिमआँधीका कारण अमेरिकामा ३० जनाको मृत्यु, कोभिडपछिको ठूलो संख्यामा उडान रद्द


प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार

न्युयोर्क सिटीमा हिमपातको दृश्य । फोटो: राजन काफ्ले /खसोखास

अमेरिकामा शक्तिशाली हिमआँधी र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ भने हालसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ। भारी हिमपात र केही राज्यहरू बरफले ढाकिएपछि लाखौं मानिस चिसो र विद्युत कटौतीको मारमा परेका छन्।

चिसो र आँधीका कारण विभिन्न राज्यमा ३० जनाले ज्यान गुमाउनेमध्येमा न्युयोर्कमा घरबाहिर मृत फेला परेका ८ जना, हिउँ पन्छाउने मेसिनले किचेर मृत्यु भएका व्यक्तिहरू र चिप्लेटी खेल्ने क्रममा भएका दुर्घटनाहरू समावेश छन्।

अर्कान्सासदेखि न्यु इङ्गल्याण्डसम्म करिब २,१०० किलोमिटर क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ। पिट्सबर्ग उत्तरका क्षेत्रहरूमा २० इन्चसम्म हिउँ परेको रेकर्ड गरिएको छ। सोमबार साँझसम्म अमेरिकाभर ५ लाख ६० हजारभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ। विशेषगरी मिसिसिपी र टेनेसी राज्यहरू यसबाट बढी प्रभावित छन्।

सोमबार मात्रै १२,००० भन्दा बढी उडानहरू ढिला वा रद्द भएका थिए । आइतबार झण्डै ४५ प्रतिशत उडान रद्द गरिएका थिए, जुन कोभिड १९ महामारी पछिकै सबैभन्दा ठूलो संख्या हो। भारी हिमपातका कारण विद्यालयहरू बन्द गरिएका थिए । न्युयोर्क जस्ता शहरहरूमा भने विद्यार्थीहरूलाई सोमबार अनलाइन कक्षा लिन निर्देशन दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मौसमविद्हरूका अनुसार सन् २०१४ पछि अमेरिकाका ४८ राज्यहरूमा यो वर्षकै सबैभन्दा कम औसत तापक्रम माइनस १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। केही ठाउँमा तापक्रम माइनस ३१ डिग्री सेल्सियससम्म पुगेको छ। आर्क्टिक हावाका कारण चिसो अझै केही दिन कायमै रहने र आगामी सप्ताहान्तमा अर्को हिमआँधी आउन सक्ने सम्भावना रहेको छ।

मिसिसिपीका गभर्नर टेट रिभ्सले यसलाई सन् १९९४ पछिकै खराब हिमआँधी भनेका छन्। अक्सफोर्डका मेयरले शहरका सडकहरूमा रुख र बिजुलीका पोलहरू ढलेको देख्दा टोरनाडो आएको जस्तो विभत्स दृश्य देखिएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com