मिनेसोटा हत्या प्रकरण: अमेरिकी  बन्दुक समर्थक समूहहरूद्वारा पूर्ण अनुसन्धानको माग


प्रकाशित मिति : माघ ११, २०८२ आईतबार

फोटो : एपी/रासस

अमेरिकाको मिनेसोटामा भएको एलेक्स प्रेट्टीको हत्या प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ट्रम्प प्रशासनमाथि चर्को दबाब बढेको छ। अमेरिकाको ‘नेशनल राइफल एसोसिएसन’ (एनआरए) लगायत अन्य बन्दुक समर्थक समूहहरूले यस घटनाको “पूर्ण र पारदर्शी अनुसन्धान” हुनुपर्ने माग गरेका हुन्।

गत शनिबार मिनियापोलिसमा एक संघीय सीमा सुरक्षा एजेन्टले एलेक्स प्रेट्टीको गोली हानी हत्या गरेका थिए। प्रेट्टी भेट्रान्स अफेयर्स अस्पतालमा कार्यरत एक ‘रजिस्टर्ड’ नर्स थिए। यस घटनालाई लिएर राज्य र संघीय अधिकारीहरूले फरक–फरक विवरण सार्वजनिक गरेका छन्।

ट्रम्प प्रशासनले प्रेट्टीसँग बन्दुक रहेको र उनले सुरक्षाकर्मीहरूलाई खतरा पुऱ्याएको दाबी गरेको छ। तर, हालसम्म प्राप्त कुनै पनि भिडियोमा प्रेट्टीले बन्दुक बोकेको स्पष्ट देखिँदैन।

क्यालिफोर्नियाको सेन्ट्रल डिस्ट्रिक्टका प्रथम सहायक अमेरिकी अधिवक्ता बिल एसेलीले सामाजिक सञ्जालमा “बन्दुक लिएर कानुन कार्यान्वयन गर्ने निकाय नजिक जाँदा गोली चल्ने सम्भावना रहने” आशयको अभिव्यक्ति दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएले उक्त अभिव्यक्तिलाई “खतरनाक र गलत” भन्दै कडा आलोचना गरेको छ। सामान्यतया डोनाल्ड ट्रम्पको निकट मानिने एनआरएले जिम्मेवार व्यक्तिहरूले अनुसन्धानको नतिजा नपर्खिई कानुन पालना गर्ने नागरिकलाई बदनाम गर्न नहुने स्पष्ट पारेको छ।

‘गन ओनर्स अफ अमेरिका’ ले अमेरिकी संविधानको दोस्रो संशोधनले नागरिकलाई विरोध प्रदर्शनका क्रममा पनि हतियार बोक्ने अधिकार दिएको र संघीय सरकारले त्यसको उल्लङ्घन गर्न नहुने बताएको छ। त्यस्तै, रिपब्लिकन सांसद थोमस म्यासीले आक्रोश व्यक्त गर्दै भनेका छन्, “बन्दुक बोक्नु मृत्युदण्डको सजाय पाउनु होइन, यो संवैधानिक अधिकार हो। यति कुरा नबुझ्ने व्यक्ति सरकारमा बस्नु हुँदैन।”

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले प्रेट्टीसँग रहेको दाबी गरिएको बन्दुकको तस्बिर सार्वजनिक गरेको छ। तर, मिनेसोटाका गभर्नर टिम वाल्जले ट्रम्प प्रशासनले घटनाबारे “निराधार” र “झुटो” विवरण फैलाइरहेको आरोप लगाएका छन्। यो महिना मिनियापोलिसमा संघीय एजेन्टहरू संलग्न भएको यो दोस्रो घातक गोलीकाण्ड हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com