अमेरिकामा बाबु-छोरी ‘आइस’को नियन्त्रणमा, घरमा आमा प्रतिक्षारत


प्रकाशित मिति : माघ १०, २०८२ शनिबार

अमेरिकामा संघीय आप्रवासन अधिकारीहरूले दुई वर्षीया बालिका र उनका बुबालाई नियन्त्रणमा लिएका छन्। नियन्त्रणमा लिइएका बाबु-छोरीलाई मिनियापोलिसबाट टेक्सासतर्फ लगिएको अदालतका कागजात र परिवारका वकिलहरूले बताएका छन्।

अदालतमा दायर कागजातअनुसार, बुबाको नाम एल्भिस जोएल टीई हो। उनी र उनकी छोरी दिउँसो करिब १ बजे पसलबाट घर फर्किँदै गर्दा अधिकारीहरूले रोकेर नियन्त्रणमा लिएका थिए। साँझसम्म एकजना संघीय न्यायाधीशले बालिकालाई सोही राति रिहा गर्न आदेश दिएका थिए। तर, संघीय अधिकारीहरूले आदेशको पालना नगरी दुवैलाई टेक्सासको हिरासत केन्द्रतर्फ जाने विमानमा चढाएको बताइएको छ।

आप्रवासन अधिकारीहरूले पछि दुवैलाई पुनः मिनेसोटा फर्काएका छन्। दुई वर्षीया बालिकालाई उनकी आमाको जिम्मा सुम्पिएको छ भने बुबा अझै मिनेसोटामै हिरासतमा रहेको बताइएको छ।

यो घटना अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) ले मिनेसोटामै पाँच वर्षीय बालक लियाम रामोसलाई नियन्त्रणमा लिएको दुई दिनपछि भएको हो। यसले अन्तर्राष्ट्रिय स्तरमा विरोध र ट्रम्प प्रशासनको कडा आप्रवासन कारबाहीप्रति बढ्दो आलोचना निम्त्याएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारकी वकिल किरा केलीले अदालतमा दायर कागजातमा लेखेअनुसार, बाबु र छोरी घर आइपुग्दै गर्दा अधिकारीहरू उनीहरूको घरको पछाडिको आँगन र ‘ड्राइभवे’ क्षेत्रमा प्रवेश गरेका थिए। वकिलका अनुसार अधिकारीहरूसँग कुनै वारेन्ट थिएन। एक अधिकारीले बालिका कारभित्रै हुँदा बुबाको कारको सिसा फुटाएको आरोप पनि लगाइएको छ।

कागजातअनुसार आमा ढोकामै थिइन् र अधिकारीहरू नजिकिँदा घरभित्र पसेकी थिइन्। तर अधिकारीहरूले “घरभित्र त्रसित अवस्थामा पर्खिरहेकी” आमा वा अन्य परिवारजनकहाँ बालिकालाई पुर्‍याउन बुबालाई अनुमति दिएनन्। त्यसपछि दुई वर्षीया बालिका र उनका बुबालाई एक आप्रवासन अधिकारीको गाडीमा राखियो, जसमा बालिकाका लागि ‘कार सिट’ समेत नभएको वकिल केलीले उल्लेख गरेकी छन्।

वकिलहरूले आपतकालीन निवेदन दायर गर्दै ‘आइस’लाई एल्भिस जोएल टीई र उनकी छोरीलाई तुरुन्त रिहा गर्न माग गरेका थिए। ‘मिनेसोटा स्टार ट्रिब्युन’ले पहिलोपटक रिपोर्ट गरेको उक्त निवेदनपछि साँझ मिनेसोटास्थित संघीय न्यायाधीशले दुवैलाई मिनेसोटाबाहिर सार्न नपाइने आदेश जारी गरेका थिए। त्यसपछि उनले बालिकालाई तुरुन्तै उनकी वकिल केलीको जिम्मामा रिहा गर्न अर्को आदेश दिएका थिए।

इक्वेडरका नागरिक ती बुबाको शरणसम्बन्धी निवेदन विचाराधीन अवस्थामा रहेको र उनीमाथि अन्तिम निष्कासन आदेश नभएको वकिलहरूले बताएका छन्। बालिका भने “अमेरिकामा नवजात शिशुका रूपमा प्रवेश गरेदेखि नै मिनियापोलिसमै बस्दै आएको” वकिलहरूले उल्लेख गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com