मिनेसोटामा प्रदर्शनकारीहरूविरुद्ध ‘पेपर स्प्रे’ प्रयोग नगर्न आइसलाई अदालतको आदेश


प्रकाशित मिति : माघ ३, २०८२ शनिबार

फोटो : एपी/रासस

अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस सहरमा प्रदर्शनकारीहरूविरुद्ध पेपर स्प्रे प्रयोग गर्न अदालतले रोक लगाएको छ।

पेपर स्प्रे एक प्रकारको गैर-घातक आत्मरक्षा र भिड नियन्त्रण उपकरण हो। यसमा खुर्सानीबाट निकालिएको ओलेओरेसिन क्याप्सिकम नामक रासायनिक तत्व हुन्छ, जसले आँखा, नाक र छालामा तीव्र जलन गराउँछ।

संघीय न्यायाधीश क्याथरिन मेनेन्डेजले संघीय एजेन्टहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई पक्राउ नगर्न वा उनीहरूविरुद्ध पेपर स्प्रे प्रयोग नगर्न आदेश दिएका हुन ।

। यस आदेशमा ‘आइस’ एजेन्टहरूको गतिविधि निगरानी र अवलोकन गर्ने व्यक्तिहरूलाई समेत समावेश गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइस) का एजेन्टहरूले “शान्तिपूर्ण र अवरोध सिर्जना नगर्ने” प्रदर्शनकारीहरूविरुद्ध प्रयोग गर्न सक्ने भिड नियन्त्रणका उपायहरूमा संघीय न्यायाधीशले कडाइ गर्नुभएको छ।  

मिनियापोलिसमा हुन लागेका आप्रवासन विरोधी प्रदर्शनहरू अगावै यो आदेश आएको हो। यसै महिनाको सुरुमा ‘आइस’ एजेन्टको गोली लागेर रेनी गुड नामकी महिलाको मृत्यु भएपछि यो सहर तनावग्रस्त बनेको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले भने दङ्गाबाट आफ्ना अधिकारीहरूलाई जोगाउन आवश्यक कदम चालिरहेको जनाएको छ।  

सुरक्षा सतर्कता: सम्भावित ‘आइस’ विरोधी प्रदर्शन र एक रूढिवादी प्रभावशाली व्यक्तिद्वारा आयोजना गरिने प्रति-प्रदर्शनलाई ध्यानमा राख्दै राज्यको नेशनल गार्डलाई सतर्क अवस्थामा राखिएको छ।

न्यायाधीश मेनेन्डेजको आदेशअनुसार संघीय एजेन्टहरूले शान्तिपूर्ण प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न पाउने छैनन्। पेपर स्प्रे वा अन्य गैर-घातक हतियार र भिड तितरबितर पार्ने उपकरण प्रयोग गर्न पाउने छैनन्। कुनै “उचित र स्पष्ट शङ्का” बिना सवारी साधन रोक्न वा यात्रुहरूलाई नियन्त्रणमा लिन पाउने छैनन्।

डिसेम्बरमा प्रदर्शनकारीहरूको एक समूहले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै अदालतले यो फैसला सुनाएको हो।

ह्वाइट हाउसले भने यो आदेशको आलोचना गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले यसलाई “हास्यास्पद आदेश” भन्दै यसले बेइमान र वामपन्थी कथनलाई प्रश्रय दिएको आरोप लगाइन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com