अमेरिकी पत्रकारको घरमा किन मार्यो एफबीआईले छापा ?


प्रकाशित मिति : पुस २९, २०८२ बुधबार

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एक पत्रकारको घरमा छापा मारेको छ। यसै हप्ता ‘वासिङ्टन पोस्ट’ की पत्रकार हान्ना नाटान्सनको घरमा एफबीआईले छापा मारेको हो।

अधिकारीहरूका अनुसार, गोप्य सरकारी सूचना चुहाएको आरोप लागेका एक सरकारी ठेकेदारमाथिको अनुसन्धानका क्रममा यो छापा मारिएको हो।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, पेन्टागनका एक ठेकेदारबाट “गोप्य र गैरकानुनी रूपमा चुहाइएको सूचना प्राप्त गरी रिपोर्टिङ गरेको” आरोपमा पत्रकारको घर खानतलासी गरिएको बताउनुभएको छ। ती ठेकेदारलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

वासिङ्टन पोस्टले ती पत्रकार हान्ना नाटान्सन नै भएको पुष्टि गरेको छ। नाटान्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय कर्मचारी संरचनामा गरेको ठूलो कटौती र पुनर्संरचनाबारे रिपोर्टिङ गर्दै आएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाटान्सन भर्जिनियास्थित आफ्नै घरमा भएको बेला संघीय एजेन्टहरू त्यहाँ पुगेका थिए। एजेन्टहरूले उनको मोबाइल फोन, कार्यालय तथा व्यक्तिगत कम्प्युटर र एउटा ‘गार्मिन’ घडी जफत गरेका छन्। यद्यपि, नाटान्सन आफू यस अनुसन्धानको मुख्य लक्ष्य (Target) नभएको जानकारी पाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ।

एफबीआईको शपथपत्र अनुसार, सन् २००२ देखि सरकारी ठेक्कामा कार्यरत प्रणाली इन्जिनियर तथा सूचना प्रविधि विशेषज्ञ पेरेज-लुगोनेसले गोप्य गुप्तचर प्रतिवेदनहरूमा पहुँच बनाई ती कागजात प्रिन्ट गरेका थिए।

अदालतमा पेश गरिएको कागजातअनुसार, पेरेज-लुगोनेसको कार खानतलासी गर्दा उनको ‘लन्च बक्स’ भित्र गोप्य जानकारी फेला परेको थियो। तर, ती कागजातहरू उनले अरू कसैलाई वितरण गरे/नगरेकोबारे भने केही खुलाइएको छैन।

पेरेज-लुगोनेसविरुद्ध राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सूचना गैरकानुनी रूपमा राखेको अभियोग लगाइएको छ। उनी बिहीबार अदालतमा उपस्थित हुने कार्यक्रम छ।

महान्यायाधिवक्ता बोन्डीले ट्रम्प प्रशासनले “राष्ट्रको राष्ट्रिय सुरक्षा र देशको सेवामा समर्पित सुरक्षाकर्मीहरूको जीवन जोखिममा पार्ने गैरकानुनी सूचना चुहावट सहन नगर्ने” स्पष्ट पार्नुभएको छ। नाटान्सनको घरमा गरिएको यस छापाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका अभियन्ताहरूबीच भने गम्भीर चिन्ता पैदा गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com