अमेरिकामा जनवरी २० देखि लागू हुने गरी क्रेडिट कार्डको ब्याजदरलाई १० प्रतिशतमा सीमित गर्न ट्रम्पको आग्रह


प्रकाशित मिति : पुस २५, २०८२ शनिबार

तस्वीर : अनस्प्लासबाट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० देखि लागू हुने गरी क्रेडिट कार्डको ब्याजदरलाई एक वर्षका लागि १० प्रतिशतमा सीमित गर्न आह्वान गरेका छन्। तर, उक्त निर्णय कसरी कार्यान्वयन गरिने र बैंक तथा क्रेडिट कार्ड कम्पनीहरूलाई यसमा कसरी बाध्य पारिने भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावी अभियानका क्रममा पनि यस्तै प्रतिबद्धता जनाएका थिए। तर, विश्लेषकहरूका अनुसार क्रेडिट कार्ड ब्याजदरमा सीमा तोक्न कंग्रेसको स्वीकृति आवश्यक पर्ने भएकाले राष्ट्रपतिको घोषणामात्र पर्याप्त नहुने बताउँछन् ।

डेमोक्रेटिक र रिपब्लिकन दुवै दलका सांसदहरूले लामो समयदेखि उच्च क्रेडिट कार्ड ब्याजदरप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। हाल रिपब्लिकन पार्टीसँग सिनेट र प्रतिनिधि सभामा साँघुरो बहुमत रहेको छ। यद्यपि, कंग्रेसमा यससम्बन्धी केही विधेयक प्रस्ताव भए पनि अहिलेसम्म कानुनको रूप लिन सकेका छैनन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै “अब अमेरिकी जनतालाई क्रेडिट कार्ड कम्पनीहरूले ठगी गर्न नदिइने” बताएका छन्। तर, उनले कुनै विशेष विधेयक वा कानुनी प्रक्रियाबारे उल्लेख गरेका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस कदमप्रति विपक्षी दलका सांसदहरूले आलोचना गरेका छन्। सिनेट बैंकिङ समितिकी डेमोक्रेट सांसद एलिजाबेथ वारेनले कंग्रेसबाट विधेयक पारित नभएसम्म ट्रम्पको आह्वान अर्थहीन हुने बताएकी छन्। उनले ट्रम्प प्रशासनले अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्युरोलाई कमजोर बनाउने प्रयास गरिरहेको भन्दै पनि आलोचना गरेकी छन्।

उता, अमेरिकाका ठूला बैंक तथा क्रेडिट कार्ड जारीकर्ताहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्। बैंकिङ क्षेत्रका केही संस्थाहरूले भने १० प्रतिशत ब्याजदर सीमा लगाइएमा ऋणको उपलब्धता घट्ने र उपभोक्ताहरूलाई कम नियमन भएका तथा महँगा वैकल्पिक ऋणतर्फ धकेल्ने चेतावनी दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com