तीन सन्तानकी आमालाई आइस अधिकारीले गोली हानी हत्या गरेपछि मिनियापोलिस तनावग्रस्त


प्रकाशित मिति : पुस २३, २०८२ बिहीबार

अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिसमा बिहीबार भएको प्रदर्शन । तस्वीर : टम बेकर/एपी-रासस

अमेरिकाको मिनियापोलिस सहर बिहीबार तनाव र आक्रोशको केन्द्र बनेको छ । अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एक अधिकारीले ३७ वर्षीया तीन सन्तानकी आमा रेनी निकोल गुडलाई गोली हानी हत्या गरेपछि सहरमा विरोध प्रदर्शन चर्किएको हो। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ।

उक्त घटना बुधबार बिहान मिनियापोलिसको आवासीय क्षेत्रमा भएको थियो। स्थानीयका अनुसार सडकमा भएको उक्त गोलीकाण्डले सहरभरि त्रास फैलाएको हो । सन् २०२० मा जर्ज फ्लोइडको हत्या भएको स्थान नजिकै यो घटना भएकाले पनि यसको संवेदनशीलता झन् बढेको छ।

घटनाको भोलिपल्ट बिहीबार बिहान आप्रवासन अदालत रहेको संघीय भवन अगाडि करिब हजारौं प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले हतियारधारी र मुख छोपेका संघीय अधिकारीतर्फ “शेम” र “मर्डर” भन्दै नाराबाजी गरे। केही संघीय अधिकारीहरूले प्रदर्शनकारी तितरबितर पार्न अश्रुग्यास र पेपर बल प्रयोग गरेपछि अवस्था थप तनावग्रस्त बन्यो।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले यो गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेकी छिन् । उनले गुडले एजेन्टहरूलाई गाडीले ठक्कर दिन खोजेको बताउँदै यसलाई “घरेलु आतङ्कवाद” भनेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, मिनियापोलिसका मेयर ज्याकब फ्रेले घटनास्थलका प्रत्यक्षदर्शीहरूले खिचेका भिडियोहरू देखाउँदै संघीय सरकारको दाबीलाई “बकवास” र “फोहोर आरोप” भनेका छन् ।

सार्वजनिक भएका भिडियोहरूमा दुई जना मुख छोपेका अधिकारीहरू ठाडो कोणमा रोकिएको गुडको कारतर्फ जाँदै गरेको देखिन्छ। एक अधिकारीले उनलाई कारबाट बाहिर निस्कन आदेश दिँदै ढोकाको ह्यान्डल समातेपछि कार केही बेर पछाडि सर्छ। त्यसपछि कार अगाडि बढ्दै दायाँ मोडिएर घटनास्थल छोड्न खोजेको देखिन्छ।

त्यसै क्रममा कारको अगाडि बायाँपट्टि उभिएका तेस्रो अधिकारीले बन्दुक निकालेर तीन राउन्ड गोली चलाउँछन्। गोलीहरू कारको बम्परले उनको शरीर पार गरिसकेको जस्तो देखिएपछि चालकको झ्यालतर्फ प्रहार गरिएका थिए। भिडियोमा अधिकारीसँग प्रत्यक्ष ठक्कर भएको स्पष्ट देखिँदैन।

यद्यपि, डिएचएस सेक्रेटरी नोएमले उक्त अधिकारीलाई अस्पताल लगिएको र पछि डिस्चार्ज गरिएको बताइन्।

उक्त आइस अधिकारी ट्रम्प प्रशासनले मिनियापोलिस क्षेत्रमा तैनाथ गर्ने घोषणा गरेको २ हजार संघीय अधिकारीहरूमध्ये एक थिए। डिएचएसले यसलाई इतिहासकै “सबैभन्दा ठूलो अपरेसन” भनेको थियो। तर, यही अपरेसनले सहरमा अराजकता र डर फैलाएको स्थानीयले आरोप लगाएका छन् ।

यसैबीच, डेमोक्र्याट मिनेसोटा गभर्नर टिम वाल्जले संघीय सरकारलाई आफ्ना अधिकारीहरू फिर्ता बोलाउन आग्रह गरेका छन्। उनले सम्भावित अशान्तिका कारण राज्यको नेशनल गार्डलाई सतर्क अवस्थामा राखिएको जानकारी दिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com