अमेरिकाको मिनेसोटामा ‘आइस’ एजेन्टद्वारा गोली प्रहार


प्रकाशित मिति : पुस ५, २०८२ आईतबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको मिनेसोटा राज्यको राजधानी सेन्ट पलमा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टले गोली चलाएका छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार, कागजातविहीन रूपमा बसिरहेका एक क्युबाली आप्रवासीले आफ्नो गाडीले ‘आइस’ एजेन्ट र अन्य अधिकारीहरूलाई ठक्कर दिएपछि प्रतिरक्षामा (आइस) का एजेन्टले गोली चलाइएको हो।

सहायक गृह मन्त्री ट्रिसिया म्याकलफ्लिनले इमेलमार्फत जानकारी दिँदै पक्राउ गर्ने क्रममा ती व्यक्तिले एक एजेन्टलाई टोकेको समेत बताइन्। सेन्ट पलस्थित आफ्नै अपार्टमेन्ट बाहिर पैदल भाग्न खोजिरहेका बेला उनलाई नियन्त्रणमा लिइएको थियो।

म्याकलफ्लिनका अनुसार गोली चले पनि ती व्यक्ति घाइते भएका छैनन्। यद्यपि, सुरक्षाका लागि ती व्यक्ति र एजेन्टहरूलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय मिनियापोलिस–सेन्ट पल क्षेत्रमा संघीय अधिकारीहरूले आप्रवासनसम्बन्धी कडाइ गरेपछि स्थानीय स्तरमा तनाव बढ्दै गएको छ। गत हप्ता मात्र छिमेकी सहर मिनियापोलिसमा आइस एजेन्ट र प्रदर्शनकारीहरूबीच झडप भएको थियो।

म्याकलफ्लिनका अनुसार पक्राउ परेका व्यक्ति सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले सुरु गरेको एक कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए।

सेन्ट पल प्रहरीका अनुसार गोली चलेको सूचना पाएपछि उनीहरू घटनास्थल पुगेका थिए, जहाँ पछि आइस एजेन्टले नै गोली चलाएको पुष्टि भएको थियो।

घटनाको विवरण दिँदै म्याकलफ्लिनले भनिन्— “आइस एजेन्टहरूले ती व्यक्तिलाई आफ्नो एसयूभी मा चढ्दै गरेको देखेपछि आफ्नो परिचय दिँदै गाडीनजिक पुगेका थिए।

तर ती व्यक्तिले गाडीको सिसा खोल्न अस्वीकार गरेपछि अधिकारीहरूले सिसा फुटाउने चेतावनी दिएका थिए। त्यसलगत्तै ती व्यक्तिले गाडी गुडाएर भाग्न खोज्दा एजेन्टहरूलाई ठक्कर दिएका थिए।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com