३० वर्षदेखि अमेरिकामा बस्दै आएकी ६० वर्षीया भारतीय महिला ग्रिनकार्ड अन्तर्वार्ताकै क्रममा पक्राउ
प्रकाशित मिति : पुस १, २०८२ बुधबार
बबलजीत कौर । तस्वीर स्रोत : गोफन्डमी
अमेरिकामा ग्रिन कार्ड अन्तर्वार्ताका लागि पुगेकी भारतीय मूलकी ६० वर्षीया महिला बबलजीत कौर (बब्ली कौर) लाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइस)ले नियन्त्रणमा लिएको छ । ३० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी कौरलाई यसै महिनाको सुरुमा आइसले नियन्त्रणमा लिएको हो ।
उनले क्यालिफोर्नियामा आफ्ना श्रीमानसँग मिलेर लामो समयसम्म रेस्टुरेन्ट सञ्चालन गरेकी थिइन् । तर, कोभिड–१९ महामारीका कारण सन् २०२० मा रेस्टुरेन्ट बन्द भएको थियो।
कौरकी छोरी जोती कौरले स्थानीय समाचार संस्था ‘लङ बिच वाचडग’लाई बताएअनुसार उनकी आमाको अर्की छोरी र ज्वाइँ (जो दुवै अमेरिकी नागरिक हुन्) बाट ग्रिन कार्डका लागि दर्ता गरिएको निवेदन पहिल्यै स्वीकृत भइसकेको थियो। स्थायी बसोबासका लागि अन्तिम अन्तर्वार्ता हुने विश्वाससहित उनी डिसेम्बर १ मा कार्यालय पुगेकी थिइन्। तर, अन्तर्वार्ताका क्रममा नै आइस अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए।
भारतबाट क्यालिफोर्निया आएका कौर र उनका श्रीमान् सन् १९९० को दशकको मध्यतिर लगुना बीच र पछि लङ बिचमा बसोबास गरेका थिए। उनीहरूले बेल्मोन्ट शोर क्षेत्रमा दुई दशकभन्दा बढी समय ‘नटराज क्युजिन अफ इन्डिया एन्ड नेपाल’ रेस्टुरेन्ट सञ्चालन गरेका थिए, जसले स्थानीय समुदायमा उनीहरूलाई चिनाएको थियो।
कौरले करिब २५ वर्षसम्म बेल्मोन्ट शोरस्थित राइट एड फार्मेसीमा पनि काम गरेकी थिइन्। हालसालै उनी फेरि रेस्टुरेन्ट क्षेत्रमा काममा फर्किने तयारीमा थिइन्।
दम्पतीका तीन सन्तान छन्। तीमध्ये दुई जना अमेरिकी नागरिक हुन् भने जोती कौरलाई डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्सकार्यक्रमअन्तर्गत कानुनी हैसियत प्राप्त छ।
परिवारले कौरलाई नियन्त्रणमा लिएपछि भेटघाट गर्न नदिइएको गुनासो गरेको छ। जोती कौरका अनुसार नियन्त्रणका बेला उनकी आमा निकै डराएकी थिइन् । उनलाई अन्य थुनुवासँगै हातखुट्टा बाँधेर भ्यानमा राखिएको थियो।
कौरलाई क्यालिफोर्नियाको हाई डेजर्ट क्षेत्रमा रहेको एडेलान्टोस्थित आप्रवासन थुनुवा केन्द्रमा सारिएको अनुमान गरिएको छ।






