बोण्डाई बीचमा भएको गोलीकाण्डपछि बन्दुकसम्बन्धी कडा कानुन प्रस्ताव गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको वाचा


प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानेजीले बन्दुकसम्बन्धी कडा कानुन प्रस्ताव गर्ने योजना बनाएको बताएका छन्। सिड्नीस्थित बोण्डाई बीचमा आइतबार भएको सामूहिक गोलीकाण्डमा १५ जनाको मृत्यु र ४० भन्दा बढी घाइते भएपछि प्रधानमन्त्री अल्बानेजीले यस्तो बताएका हुन् ।

यहूदी पर्व हानुक्काको पहिलो रातको अवसरमा आयोजित कार्यक्रममा भएको यस आक्रमणले देशभर शोक र आक्रोश फैलिएको छ। अधिकारीहरूका अनुसार बुवा–छोरा भएको आशंका गरिएका दुई जना बन्दुकधारीले कार्यक्रमस्थलमा अन्धाधुन्ध गोली चलाएका थिए। घटनापछि ५४ वर्षीय बुवालाई प्रहरीले गोली हानी हत्या गरेको थियो भने २४ वर्षीय छोरा गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

न्यू साउथ वेल्स संयुक्त आतंकवादविरोधी टोलीले मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको जनाएको छ। घटनास्थलबाट चारवटा बन्दुक र तीनवटा आफैं बनाइएका विस्फोटक उपकरण फेला परेका छन्। साथै, आरोपीहरूको घरमा गरिएको खोजतलासमा थप दुईवटा बन्दुक बरामद गरिएको छ।

प्रधानमन्त्री अल्बानेजीले यस घटनालाई “अष्ट्रेलियाको इतिहासको अन्धकारमय दिन” भन्दै राष्ट्रलाई सम्बोधन गरेका छन्। उनले राष्ट्रिय मन्त्रिपरिषद्को बैठकमा कडा बन्दुक कानुन प्रस्ताव गर्ने घोषणा गर्दै बन्दुकको संख्या र लाइसेन्स पुनरावलोकनजस्ता विषयमा कडा निर्णय लिने संकेत दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले पनि हतियारसम्बन्धी कानुनमा परिवर्तन आवश्यक भएको बताएका छन्। प्रधानमन्त्री अल्बानेजीले आइतबार यस आक्रमणलाई यहूदीविरोधी हिंसा र आतंकवादी कार्यको संज्ञा दिएका थिए।

घटनाप्रति अन्तर्राष्ट्रिय स्तरबाट पनि निन्दा भएको छ। पोप लियोले सामाजिक सञ्जालमार्फत “यहूदीविरोधी हिंसाको अन्त्य हुनुपर्छ” भन्दै घृणा हटाउन आह्वान गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com