अमेरिकामा हार्वर्डका प्रोफेसर पक्राउ, भिसा रद्द गरी स्वदेश फर्काइँदै


प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार

अमेरिकी आप्रवासन अधिकारीहरूले एकजना भिजिटिङ प्रोफेसरलाई पक्राउ गरेका छन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस ) का अनुसार हार्वर्ड कलेज अफ ल स्कूलका भिजिटिङ प्रोफेसरलाई अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेका हुन्।

ब्राजिलका नागरिक कार्लोस पोरचुगाल गोभेआलाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले पक्राउ गरेको हो।

गोभेआलाई योम किप्पुर को अघिल्लो दिन म्यासाचुसेट्सस्थित एउटा यहूदी मन्दिरबाहिर पेलेट गन चलाएको आरोपमा दोषी ठहर भएको एक दिनपछि आप्रवासन अधिकारीहरूले पक्राउ गरेका हुन्।

यहूदी धर्मावलम्बीहरूको पवित्र पर्व योम किप्पुरको पूर्वसन्ध्यामा टेम्पल बेथ जियॉन नजिकै बन्दुक बोकेको व्यक्तिको खबर पाएपछि उनीहरू घटनास्थल पुगेका थिए। प्रहरी रिपोर्टअनुसार, गोभेआले चरा-मुसा तर्साउन प्रयोग गरिने पेलेट गनबाट मुसा मार्ने प्रयास गरिरहेको बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले उक्त घटनालाई यहूदीविरोधी हमला भनेर दाबी गरे पनि टेम्पल बेथ जियॉनले आफ्ना समुदायलाई यस घटनामा कुनै यहूदीविरोधी उद्देश्य नदेखिएको बताएका छन्। त्यस्तै, घटनाको छानबिन गर्ने ब्रुकलाइन प्रहरी विभागले पनि सोही निष्कर्ष निकालेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उक्त घटनालाई “यहूदीविरोधी गोलीकाण्ड” भनेर वर्णन गरेपछि उनको अस्थायी गैर-आप्रवासी भिसा अमेरिकी विदेश मन्त्रालयले रद्द गरेको थियो।

साओ पाउलो विश्वविद्यालयको ल स्कूलमा एसोसिएट प्रोफेसरको रूपमा कार्यरत रहेका गोभेआले गत सिजनमा हार्वर्डमा अध्यापन गरेका थिए।

पक्राउ परेपछि उनी अमेरिकाबाट बाहिरिन सहमत भएका डीएचएसले जनाएको छ। यस घटनाका विषयमा हार्वर्डले पनि कुनै टिप्पणी गरेको छैन।

ट्रम्प प्रशासनले हार्वर्डमाथि यहूदी विद्यार्थीहरूको सुरक्षा तथा यहूदीविरोधी घटनाहरू रोक्न विश्वविद्यालयले पर्याप्त काम नगरेको दाबी गर्दै दबाब बढाइरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com