अमेरिकामा आप्रवासन अधिकारीको कारबाही तीव्र: न्यु ओर्लियान्सबाट ५ हजारभन्दा बढीलाई पक्राउ गर्ने लक्ष्य


प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस

अमेरिकी आप्रवासन अधिकारीले न्यु ओर्लियान्सबाट ५ हजारभन्दा बढीलाई पक्राउ गर्ने लक्ष्य बनाएका छन्।

उनीहरूले आफ्नो लक्ष्य पूरा गर्न कारबाहीसमेत सुरु गरेका छन्। आप्रवासन अधिकारीहरूको कारबाही सुरु भएपछि समुदायमा भने त्रास फैलिएको छ।

समग्र लुइसियानाको कारबाहीमा विभिन्न मुद्दामा पक्राउ परेका वा सजाय पाएका धेरै व्यक्तिहरूलाई आप्रवासन अधिकारीहरूले पक्राउ गरिसकेका छन्।

यो ट्रम्प प्रशासनको चौथो ठूलो शहरमाथिको कडा कारबाही हो। चुनावको समयमा उनले इतिहासकै सबैभन्दा ठूलो अवैध आप्रवासी निष्कासन अभियान गर्ने वाचा गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका समर्थकहरूले यसलाई स्वागत गरेका छन्, तर डेमोक्रेट शहरहरूमा भने कडा आलोचना भइरहेको छ।

बोर्डर पेट्रोल कमाण्डर ग्रेग बोभिनोले अवैध आप्रवासीमध्ये सबैभन्दा खतरनाक समूहलाई लक्षित गर्ने बताएका छन्। उनले आप्रवासन कारबाहीको लक्ष्य अमेरिकालाई सुरक्षित बनाउने भएको बताए।

तर न्यु ओर्लियान्स सिटी काउन्सिलका अध्यक्ष जेपी मोरेलले न्यु ओर्लियान्स वा वरपरका क्षेत्रमा ५,००० अपराधी त परै जाओस् ‘हिंसात्मक’ कार्य गर्ने गरेको भन्ने कसैलाई पनि आधार नभेटिने बताए। केनर उपनगरी क्षेत्रमा ल्याटिनो समुदाय डरका कारण घरमै बसेको छ।

अमेरिकामा कानुनी अनुमति बिना बस्ने मानिसहरूको सङ्ख्या करिब १४ मिलियन रहेको अनुमान प्यू रिसर्च सेन्टरले गरेको छ।

यो अभियानले अपराध आरोप झेलिरहेका अवैध आप्रवासीलाई लक्षित गरेको छ। तर लिक भएका सरकारी तथ्याङ्कअनुसार पहिलेका कारबाहीहरूमा धेरैजसो समातिएका व्यक्तिहरूको कुनै आपराधिक इतिहास भेटिएको थिएन।

स्याङ्क्चुरी सिटीहरूमा ट्रम्प प्रशासनले निशाना बनाएको छ। स्याङ्क्चुरी सिटी भन्नाले सङ्घीय आप्रवासन एजेन्सीलाई पूर्ण सहयोग नगर्ने शहरलाई जनाउँछ। न्यु ओर्लियान्स त्यस्तै शहर हो।

न्यु ओर्लियान्सको करिब १३ प्रतिशत जनसङ्ख्या हिस्पानिक मूलको रहेको छ। धेरैजना सन् २००५ को हरिकेन क्याट्रिनापछि पुनर्निर्माणमा सहयोग गर्न आएका थिए।

शहरका नेताहरूले ट्रम्पको कडा कारबाहीको विरोध गरे पनि, लुइसियानाका रिपब्लिकन गभर्नर जेफ ल्यान्ड्रीले भने यसलाई खुलेर समर्थन गरेका छन्।

पक्राउ परेकाहरूलाई अमेरिकाकै सबैभन्दा ठूलो उच्च सुरक्षा कारागार “एङ्गोला” मा पठाइने सम्भावना रहेको छ।

सर्वेक्षणले ट्रम्प समर्थकहरूकै बीचमा पनि आप्रवासन धारणामा परिवर्तन भइरहेको छ। आक्रामक कारबाहीका कारण उनको समर्थनमा केही गिरावट भने देखिएको छ।

न्यु ओर्लियान्स अमेरिकाको लुइसियाना राज्यको सबैभन्दा ठूलो शहर र प्रमुख बन्दरगाह हो। इतिहास, सङ्गीत, संस्कृतिको मिश्रण र आफ्नो अनौठो पहिचानका कारण यो विश्वप्रसिद्ध शहर मानिन्छ।

यो मिसिसिप्पी नदीको किनारमै अवस्थित छ। मेक्सिको उपसागर नजिक र तल्लो समुद्री सतहमा रहेको कारण बारम्बार बाढी र आँधीको जोखिममा यो शहर रहेको छ।

न्यु ओर्लियान्स अमेरिकाकै सबैभन्दा सांस्कृतिक रूपमा समृद्ध शहरहरू मध्ये पर्छ। यहाँ युरोपेली, अफ्रिकी, क्यारिबियन र अमेरिकी संस्कृतिको अनौठो मिश्रण पाइन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com