एसाइलममाथिको रोक लामो समयसम्म कायम रहने राष्ट्रपति ट्रम्पको घोषणा


प्रकाशित मिति : मंसिर १४, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलम (शरण) माथिको रोक लामो समयसम्म कायम रहने बताएका छन्।

एकजना अफगान नागरिकले ह्वाइट हाउस नजिकै दुई जना नेशनल गार्ड सदस्यलाई गोली हानेपछि ट्रम्प प्रशासनले तत्कालका लागि आश्रय (एसाइलम) का लागि परेका निवेदनमाथिको प्रक्रिया रोक्ने घोषणा गरेको थियो।

उक्त गोलीकाण्डमा घाइते भएकामध्ये एक जना नेशनल गार्डको मृत्यु भएको थियो, भने अर्का एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

ट्रम्पले दुखद घटनापछि शरण सम्बन्धी निर्णयमा लागेको रोक “लामो समय” सम्म कायम राख्ने आफ्नो प्रशासनको मनसाय रहेको बताएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कति समयसम्म रोक लाग्ने भनेर सोधिएको प्रश्नमा ट्रम्पले “कुनै समय सीमा” अहिले तोक्न नसक्ने बताए। उनले समय सीमा तोक्ने बेला नभएको तर यो रोक लामो समयसम्म कायम राख्ने योजनामा रहेको स्पष्ट पारेका छन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यो रोक १९ देशहरूको सूचीसँग जोडिएको छ, जहाँ पहिले नै यात्रा प्रतिबन्ध लागू छ।

ट्रम्पले भने, “हामीलाई ती देशका मानिसहरू चाहिएका छैनन्। किनभने तीमध्ये धेरै मान्छे राम्रा छैनन्, खराब मानिसहरू अमेरिकामा हुनु हुँदैन।”

राष्ट्रपति ट्रम्पले गत हप्ता मारिएकी नेशनल गार्ड सदस्यको परिवारलाई ह्वाइट हाउस आउन निम्तो दिएका छन्। उनले उनका आमा–बुवासँग फोनमा कुरा गरेको बताए।

यूएस आर्मी स्पेशलिस्ट सारा बेकेस्ट्रोम बुधबार वाशिंगटन डी.सी.मा भएको गोलीकाण्डमा मारिएकी थिइन्। उनका सहकर्मी, यूएस एयर फोर्सका स्टाफ सर्जेन्ट एन्ड्र्यू वोल्फ गम्भीर अवस्थामा अस्पतालमा छन्।

होमल्यान्ड सेक्युरिटी मन्त्री क्रिस्टी नोएमले गोलीकाण्डमा संलग्न अफगान नागरिक अमेरिकामै “कट्टरपन्थी” बनेका थिए भन्दै यसको दोष बाइडेन प्रशासनले लिनुपर्ने बताएकी थिइन्। तर, तथ्य के छ भने ती व्यक्तिको शरण दाबी ट्रम्प प्रशासनकै समयमा अप्रिल २०२५ मा स्वीकृत भएको थियो।

२९ वर्षीय रहमानुल्लाह लकनवाल सीआईए. समर्थित युनिटहरूसँग काम गर्थे र २०२१ सेप्टेम्बरमा अपरेसन एलाई वेलकम कार्यक्रममार्फत अमेरिकामा आएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com