अमेरिकामा आदेशको पालना नगर्न सैनिकलाई आग्रह गर्ने डेमोक्र्याट सांसदविरुद्ध छानबिनको तयारी
प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार
अमेरिकी सैनिकलाई अवैध आदेश पालना नगर्न आग्रह गर्ने डेमोक्र्याट सांसदहरूविरुद्धको छानबिन अगाडि बढेको देखिएको छ।
एफबीआई र न्याय मन्त्रालयले ती छ जना सांसदसँग सोधपुछका लागि समय तय गर्न क्यापिटल पुलिसलाई सम्पर्क गरेको बताइएको छ।
तर अवैध आदेश नमान्न सैनिकहरूलाई आग्रह गरेको भनी विवादमा परेका डेमोक्र्याट सांसदहरूले छानबिनप्रति प्रतिवाद गरेका छन्।
मिचिगनकी डेमोक्र्याट सीनेटर एलिस्सा स्लटकिनले एफबीआईले गत हप्ता सार्वजनिक भएको भिडियोमा देखिएका छ जना सांसदलाई छानबिनबारे जानकारी दिएको बताइन्।
अमेरिकी प्रतिनिधि सभाका चार सदस्यले संयुक्त वक्तव्य निकाल्दै “कुनै पनि प्रकारको डर, धम्की वा उत्पीडनले हामीलाई कर्तव्य पालना गर्न र संविधानको सम्मान गर्नबाट कहिल्यै रोक्न सक्दैन,” भनेर उल्लेख गरेका छन्।
यी सांसदहरूले सैनिकलाई दिएको सन्देशपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटहरूलाई “देशद्रोही गतिविधि” भन्दै “जसको सजाय मृत्यु” हुन सक्ने चेतावनी दिएका थिए। आफ्नो पार्टीबाट विरोध भएपछि मृत्यु नभनेको भन्दै राष्ट्रपतिले आफ्नो भनाइ सच्चाएका थिए।
एरिजोनाका डेमोक्र्याट सीनेटर मार्क केलीविरुद्ध “गम्भीर अनुशासनहीनता” भएको भन्दै पेन्टागनमा समीक्षा सुरु भएको थियो। उनी पनि उक्त भिडियोमा देखिएका थिए। न्याय मन्त्रालयले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
एफबीआईले छ जना डेमोक्र्याट सांसदसँग सोधपुछ गर्न खोजिरहेको बताइएको छ।
गत हप्ता सार्वजनिक गरिएको उक्त भिडियो स्लटकिनले सेयर गरेकी थिइन्, जसमा केलीसँगै प्रतिनिधि सभा सदस्यहरू क्रिस डेलुजियो, म्यागी गुडल्यान्डर, क्रिस्सी हुलाहान र जेसन क्रो देखिन्छन्। ती सबैजना पूर्व सैनिक वा गुप्तचर समुदायका सदस्य भएका व्यक्तिहरू हुन्।
यो भिडियो ट्रम्प प्रशासन र भेनेजुएला सरकारबीच बढ्दो तनाव, साथै नेशनल गार्ड खटाइएका डेमोक्र्याट नेतृत्वका शहरहरूमा भइरहेका विरोधबीचमा आएको हो।
स्लटकिनले एफबीआईको काउन्टर–टेररिज्म युनिटले सांसदहरूलाई ‘छानबिन’ बारे सूचित गर्न नोट पठाएको बताइन्।
ट्रम्पले आफ्ना विरोधीहरूविरुद्ध संघीय शक्तिको प्रयोगमा विश्वास गर्ने गरेको र असहमत भएका व्यक्तिहरूलाई तर्साउन सरकारी निकायहरू प्रयोग गर्न खोजिरहने भन्दै उनले आलोचना गरिन्। उनले ट्रम्पको कदमलाई “त्रास फैलाउने रणनीति” भनेकी छिन्।
भिडियोमा केलीले प्रशासनमाथि “हाम्रा सैनिक र गुप्तचर निकायका पेशेवरहरूलाई अमेरिकी जनताविरुद्ध उभ्याउन खोजेको” आरोप लगाएका थिए।
पेन्टागनले पूर्व नेभि कप्तान तथा अन्तरिक्ष यात्री रहेका सीनेटर केलीमाथि सैन्य कानुन उल्लङ्घन गरेको आरोप लगाएको छ। युद्ध मन्त्रालयले उनलाई पुनः सक्रिय ड्युटीमा बोलाई कोर्ट–मार्शल गर्नुपर्ने हो कि होइन भनी समीक्षा गरिने बताएको छ।
सैनिक सेवाबाट अवकाश लिए पनि केली युनिफर्म कोड अफ मिलिटरी जस्टिस अन्तर्गत पर्ने व्यक्ति नै हुन्।
सन् १९५१ मा कांग्रेसले स्थापना गरेको यो संघीय कानुनले सैन्य सदस्यहरूलाई विशेष नियमहरूको अधीनमा राख्छ।
तर केलीले जवाफ दिँदै भने, “मैले यो देशका लागि धेरै बलिदान दिएँ। मलाई चुप गराउन खोज्नेहरूले संविधानभन्दा आफ्नो शक्ति महत्त्वपूर्ण ठान्छन्। म तिनीहरूबाट डराउँदिन।”
पेन्टागनले केलीबारेको समीक्षा औपचारिक रूपमा सुरु गरेको देखिने सामग्री सार्वजनिक गरेको थियो।






