आप्रवासन कारबाही चलिरहेको बेलामा शार्लोट–मेकलेनबर्गका स्कुलमा एकै दिन २१ हजार विद्यार्थी अनुपस्थित


प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

अमेरिकाको नर्थ क्यारोलिनाको शार्लोट–मेकलेनबर्ग स्कुल (सिएमएस) मा सोमबार करिब २१ हजार विद्यार्थी अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सिएमएस अधिकारीहरूका अनुसार नोभेम्बर १७ मा जिल्लाभरका १८५ विद्यालयमा २० हजार ९३५ विद्यार्थी उपस्थित भएनन्, जुन कुल भर्ना भएका विद्यार्थीको १५ प्रतिशत हो। राज्यले अनुमोदन नगरेसम्म दैनिक उपस्थिति तथ्याङ्कलाई आधिकारिक मानिँदैन।

सिएमएसका तथ्याङ्कअनुसार विद्यालयहरूमा अध्ययनरत विद्यार्थीमध्ये ३१ प्रतिशत हिस्पानिक समुदायका छन्। यति बेला शार्लोट शहरमा चलिरहेको ठुलो आप्रवासन कारबाहीका कारण विद्यार्थीहरूको उपस्थिति घटेको हो कि भन्ने प्रश्न उठिरहेको छ । तर, अधिकारीहरूले यसबारे स्पष्ट सङ्केत दिएका छैनन्।

गत केही दिनयता अमेरिकी बोर्डर पेट्रोलले “शार्लोट वेब” नामक आप्रवासन कारबाही सञ्चालन गर्दै आएको छ। नोभेम्बर १५ र १६ का दुई दिनमै १३० जना पक्राउ परेका छन्, जसमा शनिबार मात्रै ८१ जना समातिएका थिए । यो सङ्ख्या “रेकर्ड ब्रेकिङ” भएको अधिकारीहरूले बताएका छन्। पक्राउ परेकामध्ये ग्याङ सदस्यता, कुटपिट, घातक हतियार राखेको, चोरी, मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोप तथा पहिले निर्वासन भइसकेपछि पुनः गैर कानुनी रूपमा प्रवेश जस्ता गम्भीर फौजदारी आरोपहरू रहेको जनाएको छ।

सोही घटनाक्रमपछि शार्लोटका मेयर भि लाइल्सले विज्ञप्ति जारी गर्दै बोर्डर पेट्रोलको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेकी छन्। उनले धेरै भिडियोहरूमा देखिएको व्यवहार गम्भीर चासोको विषय भएको बताउँदै शार्लोटमा बस्ने प्रत्येक व्यक्तिको (उनीहरूको आप्रवासन स्थिति जस्तोसुकै भए पनि) अधिकार र संवैधानिक सुरक्षा कायम रहनुपर्नेमा जोड दिएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शहरमा जारी कडा आप्रवासन निगरानीबीच विद्यार्थीहरूको असामान्य अनुपस्थितिले सामुदायिक तहमा थप तनाव र अनिश्चितता सिर्जना गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com