स्थायी रूपमै अमेरिका छाड्न चाहन्छन् ४० प्रतिशत अमेरिकन युवती !


प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका आफ्नै नागरिक (विशेष गरी युवतीहरू)मा स्थायी रूपमा देश त्याग्ने इच्छा बढ्दै गएको छ । ग्यालपले सार्वजनिक गरेको सन् २०२५ को सर्वेक्षणका अनुसार, पाँचमध्ये दुई अर्थात् ४० प्रतिशत अमेरिकन युवतीले विदेशमा स्थायी बसाइँ सर्न चाहना व्यक्त गरेका हुन् । 

यो दर २०२४ मा ४४ प्रतिशत थियो भने २०२३ मा २९ प्रतिशत मात्र थियो। पछिल्लो दुई वर्षमा अमेरिकन युवतीहरूको विदेश जाने चाहनामा उल्लेख्य वृद्धि भएको हो । सर्वेक्षणमा सहभागी झन्डै पाँचमध्ये एक अमेरिकीले कुनै न कुनै रूपमा अमेरिका छोड्ने सोच राखेको पाइएको छ।

सहभागी सबैलाई एउटै प्रश्न गरिएको थियो, “आदर्श अवस्थामा, यदि अवसर मिल्यो भने के तपाईँ स्थायी रूपमा अर्को देशमा बसाइँ सर्न चाहनुहुन्छ वा अमेरिकामै बस्न चाहनुहुन्छ ?”

१५ देखि ४४ वर्ष उमेरका ४० प्रतिशत महिलाहरूले देश छोड्ने पक्षमा देखिए, जबकि सोही उमेर समूहका १९ प्रतिशत मात्रै पुरुषहरूले त्यो दृष्टिकोणसँग सहमत भए। ४५ वर्ष र सोभन्दा माथिका १६ प्रतिशत महिलाहरूले उही उमेरका ८ प्रतिशत पुरुषहरूको तुलनामा बसाइँ सर्ने चाहना राखेको पाइएको हो । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उमेर बढ्दै जाँदा देश छोड्ने चाहना घट्दै जाने देखिए पनि महिलाहरूको विदेशी बसाइँप्रतिको आकर्षण पुरुषभन्दा अझै उच्च छ। २० प्रतिशत अमेरिकी वयस्कले स्थायी रूपमा देश छाड्न सक्ने इच्छा देखाएका छन्।  तर, ग्यालपले यो तथ्याङ्क इच्छा मात्र भएको र वास्तविक रूपमा देश छाड्ने मानिसहरूकै सङ्ख्या समान नहुन सक्ने उल्लेख गरेको छ।

ग्यालपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आजका युवामध्ये पुरुष (१९ प्रतिशत)  र महिला (४० प्रतिशत) बीच अमेरिका छोड्ने इच्छामा देखिएको २१ प्रतिशत अङ्कको फरक ग्यालपले कुनै पनि वर्षमा नदेखेको सबैभन्दा ठुलो अन्तर हो।”८८

“ग्यालपले २००७ देखि विश्वभर आप्रवासनको चाहना मापन गर्दा, अधिकांश देशमा यति ठुलो लैङ्गिक अन्तर देखिएको छैन। २०२५ मा अमेरिकामा दर्ता भएको यो अन्तरभन्दा अगाडि कुनै पनि देशमा युवक र युवतीबीच २० प्रतिशत वा सोभन्दा बढी चाहनाको अन्तर पाइएन।”, विज्ञप्तीमा भनिएको छ । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com