ट्रम्प प्रशासनको ७ महिनामा ३ लाख ५० हजारलाई देश निकाला, निर्वासन संख्यामा ऐतिहासिक वृद्धि


प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि पहिलो सात महिनामै करिब ३ लाख ५० हजार कागजातबिहीन आप्रवासीलाई देश निकाला गरिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक वरिष्ठ अधिकारीका अनुसार, यस अवधिमा मात्र इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले करिब २ लाख व्यक्तिहरूलाई निर्वासन गरेको छ, जसले विगत दशककै उच्च दरमा देश निकाला भएको देखाएको छ।

जनवरीदेखि जुलाई २०२५ सम्म अमेरिकाबाट कुल ३,५०,००० जनालाई देश निकाला गरिएको मध्ये आइसद्वारा करिब २,००,००० जनालाई देश निकाला गरियो। यसैगरी, कस्टम्स एन्ड बोर्डर प्रोटेक्शन (सीबीपी) द्वारा १,३२,००० भन्दा बढी मानिसहरूलाई देश निकाला गरियो। यस ७ महिनाको अवधिमा १७,५०० जनाले स्वेच्छाले देश छोडेका थिए।

ट्रम्प सत्तामा आउनु अघिदेखि नै (२०२४ अक्टोबर–डिसेम्बर) आइसले ७१,४०० भन्दा बढी निर्वासन गरिसकेको थियो। ती तथ्याङ्क समेत समावेश गर्दा, चालु आर्थिक वर्ष २०२५ (सेप्टेम्बर ३० मा समाप्त हुने)मा निर्वासन संख्या ३ लाख पार गर्ने सम्भावना प्रबल छ। यति ठूलो संख्यामा निर्वासन सन् २०१४ पछि पहिलो पटक भएको हो, जब राष्ट्रपति बाराक ओबामाको कार्यकालमा करिब ३ लाख १६ हजार व्यक्तिलाई हटाइएको थियो।

ट्रम्प प्रशासनले आफ्नो “वृहत् निर्वासन अभियान”लाई सफल बनाउन आइस, सीबीपी र अमेरिकी कोस्ट गार्ड लगायतका संघीय निकायलाई देशव्यापी रूपमा सक्रिय बनाएको छ। विशेषगरी लस एन्जलस र वासिङ्टन डीसीमा यस अभियानको प्रष्ट प्रभाव देखिएको छ।

आइसका एक वरिष्ठ अधिकारीले भने, “सक्रिय न्यायाधीशहरूको ऐतिहासिक अवरोधबीच पनि आइस, सीबीपी र कोस्ट गार्डले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्न ऐतिहासिक प्रगति गरेका छन्। कागजतबिहीन आप्रवासीहरूले हाम्रो सन्देश सुनेका छन्, अहिले नै देश छोड वा कानुनी परिणाम भोग।”

तर, ह्वाइट हाउसभित्र भने अझै असन्तुष्टि छ। आन्तरिक गिरफ्तारी संख्या प्रशासनको लक्ष्यभन्दा कम रहेको छ। हाल दैनिक गिरफ्तारी १,००० देखि २,००० सम्म रहेको छ, यद्यपी ह्वाइट हाउसको लक्ष्य दैनिक ३,००० लाई गिरफ्तार गर्नु हो ।

यो संख्या बाइडेन प्रशासनको तुलनामा करिब दोब्बर भए पनि, ट्रम्पले चुनावी अभियानमा गरेको “प्रति वर्ष १० लाख निर्वासन” गर्ने वाचा अझै टाढै देखिएको छ।

आगामी वर्षहरूमा भने निर्वासन अभियान झन् तीव्र हुने सम्भावना छ। ट्रम्पले यसै गर्मीयाममा आप्रवासी नियन्त्रणसम्बन्धी एजेन्डा विधेयकमा हस्ताक्षर गरेपछि, आइस अमेरिकी संघीय निकायहरूमध्ये सबैभन्दा बढी बजेट पाउने सुरक्षा निकाय बन्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसको ४ बर्षका लागि बजेट करिब ७५ बिलियन डलर रहेको छ । जसमध्ये हिरासत केन्द्र विस्तारमा करिब ४५ बिलियन डलर तथा पक्राउ र देशनिकाला अभियानका लागि करिब ३० बिलियन डलर रहेको छ । यो बजेटले आइसलाई अझ शक्तिशाली बनाउँदै आप्रवासी पक्राउ, हिरासत र निर्वासन प्रक्रियामा तीव्रता ल्याउने बताइएको छ।

मेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्वेच्छाले देश छोड्न लाखौं डलरको विज्ञापन अभियान सञ्चालन गरेको छ । साथै, वित्तीय प्रोत्साहन पनि दिइएको छ। यसै सन्दर्भमा, मेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले हालैको क्याबिनेट बैठकमा यी तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रपतिको “कडा सन्देश” लाई श्रेय दिएकी छिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com