अमेरिकाको एक स्कूलमा प्रार्थनाको क्रममा बन्दुकधारीले गोली चलाउँदा दुई बालबालिकाको मृत्यु


प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार

अमेरिकाको मिनियापोलिसमा क्याथोलिक स्कूलमा प्रार्थनाको क्रममा बन्दुकधारीले गोली चलाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्य हुनेमा ८ र १० वर्षका दुई बालबालिका रहेका छन् भने १७ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जना बालबालिका छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ ।

मिनियापोलिस प्रहरी प्रमुख ब्रायन ओ’हाराले घटनाबारे जानकारी दिँदै भने, “यो निर्दोष बालबालिका र पूजा गर्ने अन्य व्यक्तिहरूमाथि जानाजानी गरिएका हिंसात्मक कार्य हुन्। बालबालिकाले भरिएको चर्चमा गोली चलाउनुको क्रूरता र कायरता पूर्णलाई शब्दमा व्यक्त गर्न सकिँदैन।”

प्रहरीले आक्रमणकारी २० वर्षको उमेरको भएको र उसको व्यापक आपराधिक इतिहास नभएको बताएको छ। उसले राइफल, सटगन र पिस्टलले बालबालिकाको ज्यान लिएको प्रहरीले जनाएको छ ।

आक्रमणको क्रममा बन्दुकधारी कालो लुगा लगाएर चर्च बाहिर उभिएको र झ्यालबाट स्कूलका बालबालिकामाथि गोली चलाएको बताइएको छ। प्रहरीले घटनामा दर्जनौं राउन्ड गोली चलाइएको पुष्टि गरेको छ।

स्थानीय अस्पताल प्रणाली ‘चिल्ड्रन्स मिनेसोटा’ले कम्तिमा पाँच बालबालिका भर्ना भएको जनाएको छ।

मिनेसोटाका गभर्नर टिम वाल्जले सामाजिक संजालमा भने, “हाम्रो बालबालिका र शिक्षकहरूको लागि म प्रार्थना गर्दैछु, जसको विद्यालयको पहिलो हप्ता यस भयानक हिंसात्मक घटनाले छायाप्रभाव पारेको छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “भयानक स्थिति”को रूपमा वर्णन गर्दै भने, “म मिनियापोलिस, मिनेसोटामा भएको दुःखद गोलीकाण्डबारे पूर्ण रूपमा जानकारी पाएको छु। एफबीआई छिट्टै घटनास्थलमा पुगेको छ र उनीहरू त्यहाँ छन्। ह्वाइट हाउसले यस भयानक घटनाको निगरानी जारी राख्नेछ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com