अमेरिकी संघीय न्यायाधीशले बन्ड स्वीकृत गरे पनि ५ सन्तानका बुवालाई देश निकाला


प्रकाशित मिति : भाद्र १०, २०८२ बुधबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

ग्वाटेमालाका ३६ वर्षीय ओबेड एलियास गोंजालेज-मोरालेसलाई अमेरिकी संघीय न्यायाधीशले बन्ड स्वीकृत गरे पनि अमेरिकाबाट देश निकाला गरिएको छ । उनका वकिल टिलमन डनबर जूनियरका अनुसार, उनलाई अगस्त १०, २०२५ मा मेरिल्यान्डको होपर आइल्यान्ड्समा परिवारसँग माछा मार्दा पक्राउ गरिएको थियो।

घटनापछि गोंजालेज-मोरालेसलाई एडम्स काउन्टी डिटेन्सन सेन्टर, नाचेज-मिसिसिपीमा राखिएको थियो। अगस्त १५ मा ह्याट्सभिल इमिग्रेशन कोर्टका न्यायाधीश थानोस कानेलाकोसले १५,००० डलरकोे बन्ड स्वीकृत गरे, जसले उनलाई रिहा गर्न अनुमति दिन्थ्यो। तर, परिवारले बन्ड भुक्तानीको तयारी गरिरहेको बेला उनलाई शनिबार राति अचानक सेलबाट निकालेर ग्वाटेमालातर्फ पठाइयो।

गोंजालेज-मोरालेसले सञ्चारमाध्यमहरुसँग भनेका छन्, “मलाई मेरो कसुर के थियो भनेर सोध्ने मौका समेत पाएन। उनीहरूले मलाई सिधै लगे। मेरो परिवार त्यहाँ थिए—मेरो बच्चाहरू। जब उनीहरूले यो देखे, उनीहरू स्तब्ध र आहत भए। उनीहरूले पहिले मलाई यसरी कहिल्यै देखेका थिएनन्।”

उनका पाँच बच्चाहरू छन्, जसमा तीन ग्वाटेमालामा जन्मेका हुन् भने दुई अमेरिकामै जन्मिएका हुन् । गोंजालेज-मोरालेसले भने, “राष्ट्रपति धेरै नोक्सान गर्दैछन्, परिवारहरू अलग गर्दैछन्। मेरा बच्चाहरू आहत छन्। म सधैं राम्रो पिता बन्ने प्रयास गर्दै आएको थिएँ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार गोंजालेज(मोरालेसलाई अगस्त ९, २०२५ मा एक आप्रवासी न्यायाधीशले अन्तिम निष्कासन आदेश जारी गरेका थिए। उनले बन्ड कहिल्यै राखेनन् र अन्ततः अगस्त १७, २०२५ मा ग्वाटेमालामा पठाइयो।

उनका वकिलका अनुसार, गोंजालेज-मोरालेसले अमेरिकामा २०१२ देखि बसोबास गर्दै आएका थिए । उनका अमेरिकी नागरिक बच्चाहरू छन् र उनी “सेक्शन ४२बी अन्तर्गत निष्कासन रद्दको आवेदन” मार्फत राहतका लागि योग्य थिए। तर, उनलाई कहिल्यै नोटिस टु अपियर वा मास्टर क्यालेन्डर सुनुवाइको लागि बोलाइएको थिएन।

विशेषज्ञहरूले अमेरिकी प्रशासनको कडा प्रवासी नीति अन्तर्गत यस प्रकारको अचानक निष्कासनलाई आलोचना गर्दै सरकारले आप्रवासीको कानुनी प्रक्रिया अधिकार पालना नगरेको टिप्पणी गरेका छन् । यो घटना अमेरिकी प्रशासनको कागजातबिहीन आप्रवासीहरूविरुद्धको कडा अभियानको हिस्सा मानिन्छ, जसले लाखौं कागजातबिहीन आप्रवासीलाई देश बाहिर पठाउने प्रयासलाई तीव्र बनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com