श्रीमतीको जन्मदिनमै भायोलिन वादक आइसको हिरासतमा, कोलोराडोको डिटेन्शन सेन्टरमा पठाइयो


प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार

तस्वीर स्रोत : गोफन्डमी

भायोलिन वादक जोन शिन आफ्नो पत्नी डाने स्नोको जन्मदिनकै दिन पक्राउ परेका छन् । शिनलाई अगस्ट २०, २०२५ मा कामको यात्रामा रहेको बेलामा अमेरिकी फेडेरल आप्रवासन अधिकारीहरूले हिरासतमा लिएका हुन्। पछि उनलाई कोलोराडोको डिटेन्शन सेन्टरमा स्थानान्तरण गरिएको छ।

डाने स्नोले भनिन्, “त्यो बिहान उनी मलाई ‘ह्याप्पी बड्डे, म तिमीलाई धेरै माया गर्छु’ भनेर म्यासेज पठाएका थिए। तर, दिउँसो फोन गरेर भने, ‘हनी, मलाई आइसले पक्राउ गर्‍यो। अब मलाई डिटेन्मेन्ट सेन्टर पठाइँदैछ।” उनले थपिन्, “मलाई लाग्यो, ओ माइ गड, यो कसरी हुन सक्छ ?”

शिनको वकिल एडम क्रेकका अनुसार, सन् २०२० मा मादक पदार्थको सेवन गरी गाडी चलाएको अभियोगमा दोषी ठहरपछि उनलाई प्राथमिकतामा राखेर आइसले हिरासतमा लिएको हो। शिन सानो उमेरमा दक्षिण कोरियाबाट के-२ भिसा लिएर अमेरिका आएका थिए र पछि डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डिएसीए) स्टाटस पाएका थिए।

शिन र स्नोले तीन वर्ष अघि ग्रीन कार्ड प्रक्रिया सुरु गरेका थिए, तर परिस्थितिका कारण समयमै आवेदन दिन सकेनन्। वकिल क्रेकका अनुसार, मादक पदार्थको सेवन गरी गाडी चलाएको अभियोगमा दोषी ठहर भएपछि डिएसीए स्वतः खारेज हुन्छ, जसले शिनलाई आप्रवासन विभागको प्राथमिकतामा राखेको हो।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक वरिष्ठ अधिकारीले भने, “शिनको विना कागजात बसोबास र आपराधिक इतिहासको कारण उनलाई हिरासतमा लिइएको हो। राष्ट्रपति ट्रम्प र डिएचएस सेक्रेटरी क्रिस्टी नोएम भिसा प्रणालीको विश्वसनीयता कायम राख्न प्रतिबद्ध छन्।”

शिनको हिरासतको विरोधमा स्थानीय समुदायले युटा स्टेट क्यापिटलमा दैनिक भायोलिन प्रदर्शन गर्दै समर्थन देखाइरहेका छन्। परिवारले गोफन्डमीमा अभियान पनि सुरु गरी कानुनी खर्च जुटाइरहेका छन्।

शिनले साल्ट लेक सिम्फनी, युटा सिम्फनी र ब्याले वेस्ट जस्ता प्रतिष्ठित समूहहरूसँग प्रदर्शन गरिसकेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com