युक्रेनी स्वतन्त्रता दिवसमा ट्रम्पको सन्देश – ‘अब यो अर्थहीन युद्ध अन्त्य गर्ने समय आयो’


प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मुलुकको स्वतन्त्रता दिवसमा दिएको हृदयस्पर्शी शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन्।

वाशिङ्टनले तीन वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य गर्न सम्झौता गराउने प्रयासलाई अघि बढाइरहेका बेला यस्तो सन्देश आएको हो।

जेलेन्स्की र ट्रम्पबीचको सम्बन्ध फेब्रुअरीमा ह्वाइट हाउसमा भएको बैठकपछि तनावपूर्ण भएपनि पछिल्लो समय सुधार भएको देखिएको छ। गत सोमबार जेलेन्स्की उच्चस्तरीय युरोपेली नेताहरूसँगै वाशिङ्टन पुगेका थिए। त्यो समय राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलनबाट फर्किएका थिए।

ह्वाइट हाउसले अझै मस्कोलाई प्रत्यक्ष दबाब दिन हिचकिचाएको भए पनि ट्रम्प क्रेमलिनप्रति असन्तुष्ट बन्दै गएका छन्। उनले गत शुक्रबार चेतावनी दिँदै भनेका थिए, “यदि युक्रेन सम्बन्धी सम्झौतामा छिटो प्रगति भएन भने रसियामाथि ‘विशाल प्रतिबन्ध वा ठूलो शुल्क (ट्यारिफ) लगाइनेछ।”

जेलेन्स्कीले भने, “अमेरिकाले युक्रेनसँग काँधमा काँध मिलाएर उभिँदै हाम्रो सबैभन्दा मूल्यवान् सम्पत्ति (स्वतन्त्रता, स्वतन्त्रता र सुनिश्चित शान्ति)को रक्षा गरेको छ।”

उनले ट्रम्पका सद्भावनापूर्ण शब्दहरूलाई युक्रेनी जनताले उच्च सम्मानका साथ ग्रहण गरेको बताएका छन्।

युक्रेनले सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्रता घोषणा गरेको दिनलाई प्रत्येक वर्ष विशेष पर्वका रूपमा मनाउँदै आएको छ। यस अवसरमा राष्ट्रपति ट्रम्पले पत्र पठाउँदै साहसी युक्रेनी जनतालाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्।

ट्रम्पले सन्देशमा लेखेका छन्, “अब यो अर्थहीन हत्याकाण्ड अन्त्य गर्ने समय आएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, शान्ति सम्झौताका लागि रसिया र युक्रेनबीचका मागहरू अझै धेरै टाढा छन् । मस्कोले अझै पनि पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेट गर्न अस्वीकार गर्दै आएको छ। यद्यपि, ट्रम्पले भने दुई नेताबीच भेट गर्ने तयारी भइरहेको बताएका छन्।

जेलेन्स्कीले स्वतन्त्रता दिवसको अवसरमा आएका अन्य शुभकामना सन्देशहरू पनि सार्वजनिक गरेका छन्। बेलायतका राजा चार्ल्स तृतीयले सन्देशमा भने, “म युक्रेनी जनताको अटूट साहस र आत्मबलप्रति गहिरो श्रद्धा व्यक्त गर्दछु।” उनले रानी कामिलाको तर्फबाट समेत शुभकामना दिँदै आगामी वर्षका लागि सबै युक्रेनीलाई हार्दिक शुभेच्छा व्यक्त गरेका छन्।

चीनका राष्ट्रपति सी चिनफिङले पनि सन्देश पठाउँदै “मैत्रीपूर्ण युक्रेनी जनतालाई हार्दिक बधाई र शुभकामना” व्यक्त गरेका छन्। उनले चीन–युक्रेनबीचको “परम्परागत मित्रता”लाई स्मरण गर्दै आपसी सम्मानका आधारमा दीर्घकालीन द्विपक्षीय सम्बन्ध विकास गर्ने चाहना व्यक्त गरेका छन्।

जेलेन्स्कीले चीनको सन्देशलाई सकारात्मक रूपमा लिँदै दुबै मुलुकबीच “शान्ति, स्थिरता र समृद्धिका लागि आपसी सम्मानमा आधारित दीर्घकालीन संवाद” आवश्यक रहेको बताएका छन्।

चीन रसियाको प्रमुख सहयोगी हो। सन् २०२२ को फेब्रुअरीमा रसियाले युक्रेनमा ट्याङ्क पठाउनुअघि केही हप्तामात्रै पुटिन र सीले “सीमाहीन रणनीतिक साझेदारी” गर्ने सहमति गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com