नेतन्याहुलाई ‘युद्ध नायक’ भन्दै ट्रम्पले गरे प्रशंसा, आफैंलाई पनि त्यही दर्जा दाबी


प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार

फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरानी परमाणु केन्द्रमाथि आक्रमण गर्ने आदेश दिएबापत ‘युद्ध नायक’ भनेर प्रशंसा गरेका छन्। मंगलबार प्रसारित भएको एक अन्तर्वार्तामा उनले नेतान्याहुलाई “राम्रा मानिस” भन्दै उल्लेख गरे । साथै, उनले आफूलाई पनि त्यस्तै दर्जा दिनुपर्ने दाबी गरे।

कन्झर्भेटिभ टक शो होस्ट तथा लेखक मार्क लेभिनसँगको अन्तर्वार्तामा ट्रम्पले नेतान्याहुलाई उच्च सम्मानका साथ प्रस्तुत गर्दै भने, “उनी युद्ध नायक हुन्, किनभने हामीले सँगै काम गरेका छौं। मलाई लाग्छ म पनि त्यस्तै हुँ।”

ट्रम्पका यी भनाइहरूले यसअघि जुलाईमा व्हाइट हाउसमा दुई नेताबीच भएको भेटमा इरानमाथिको आक्रमणलाई लिएर देखिएको आत्मसन्तुष्टिको झल्को दिएको छ।

जुन महिनाको मध्यतिर इजरायलले इरानमाथि हवाई आक्रमण गर्दै नतान्ज र इस्फाहानस्थित महत्त्वपूर्ण परमाणु केन्द्रहरूमा प्रहार गरेको थियो। यस आक्रमणमा इरानी सैन्य कमाण्ड संरचना ध्वस्त हुनुका साथै धेरै परमाणु वैज्ञानिक मारिएका थिए।

त्यसपछि, जुन २२ मा अमेरिकाले पहाड मुनि रहेको फोर्दो परमाणु केन्द्रमा विशाल बम प्रयोग गरी आक्रमण गर्‍यो। अमेरिकाको पछिल्लो मूल्यांकनले फोर्दो केन्द्रलाई गम्भीर क्षति पुगेको जनाए पनि प्रत्यक्ष पहुँच बिना क्षतिको वास्तविक स्तर ठ्याक्कै अनुमान गर्न कठिन रहेको बताइएको छ।

लेभिनसँगको अन्तर्वार्तामा ट्रम्पले आफूले विभिन्न अन्तर्राष्ट्रिय विवाद समाधान गरेको श्रेय लिएका छन्। उनले रवाण्डा–कङ्गो लोकतान्त्रिक गणतन्त्र, भारत–पाकिस्तान तथा थाइल्यान्ड–कम्बोडियाबीचको संघर्ष समाधान गरेको दाबी गर्दै भने, “मैले ६ वटा युद्ध समाधान गरेको छु। हामीले इरानलाई रोक्यौं र म उनीहरूको सम्पूर्ण परमाणु क्षमता समाप्त गर्न सफल भएँ, जुन उनीहरूले मौका पाए इजरायलमाथि तत्काल प्रयोग गर्ने थिए।”

ट्रम्पले इरान–इजरायलबीचको दुई सातासम्म चलेको आक्रमण–प्रतिआक्रमण अन्त्य गर्ने युद्धविराम घोषणा गरेको स्मरण पनि गराए।

इरान भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ। अमेरिकाको र इजरायलको आक्रमणले युरेनियम समृद्ध गर्ने क्षमता गम्भीर रूपमा क्षतिग्रस्त बनाएको भए पनि विज्ञहरूले तेहरानले अन्य साइटहरूमा पुनः समृद्धि सुरु गर्न सक्ने सम्भावना औंल्याएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, इरानको रिभोल्युशनरी गार्डसँग सम्बद्ध तस्निम समाचार एजेन्सीले ट्रम्पको अन्तर्वार्तापछि प्रतिक्रिया जनाउँदै उनको भनाइलाई “असङ्गत र अस्पष्ट” भनेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com