ट्रम्प प्रशासनको कठोर नीतिले विदेशी विद्यार्थीहरूमा चिन्ता र अनिश्चितता, सपना संकटमा !


प्रकाशित मिति : २ भदौ २०८२, सोमबार

अमेरिकी विश्वविद्यालयहरूमा नयाँ शैक्षिक वर्ष सुरु हुन लाग्दै गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा असुरक्षा, चिन्ता र अनिश्चितताको वातावरण तीव्र बन्दै गएको छ। ट्रम्प प्रशासनले उच्च शिक्षा र आप्रवासन प्रणालीमा गरेको कठोर नीति र व्यापक परिवर्तनका कारण धेरै विद्यार्थीहरूको शैक्षिक योजना अव्यवस्थित भएको छ।

न्यूजिल्यान्डको अकल्याण्डका २० वर्षीय आन्द्रे फा’आसो, जो येल विश्वविद्यालयमा अध्ययनरत छन् । उनी भन्छन् – “डिग्री पाएपछि अमेरिका छोड्नु मेरो शीर्ष प्राथमिकता बनेको छ। अमेरिकी नीतिहरू एकै रातमा बदलिन सक्छन् र मेरो अध्ययन गर्ने अधिकारलाई राजनीतिक दबाबका लागि प्रयोग गर्न सकिन्छ भन्ने डर बढ्दो छ।”

फा’आसोले अमेरिकामा फर्कनु अघि सीमा पार गर्ने प्रक्रियाप्रति वास्तविक भय व्यक्त गरेका छन्। उनी भन्छन् – “मलाई आशा छ कि सजिलै भित्र पस्छु, तर मेरो मनमा अझै पनि कुनै आधारविहीन कारणले अतिरिक्त छानबिन वा हिरासतमा पर्न सक्ने डर छ।”

सिंगापुरकी एक विद्यार्थी, जो ओहायोको कोलम्बसस्थित कलेजमा पढ्छिन् । गर्मी बिदामा घर फर्किएपछि अब फर्कन लाग्दा डर र चिन्तामा परेकी छन्। उनले भनिन् – “मेरो भिसा छ, कानुनी समस्या छैन। म कानुन मान्ने नागरिक हुँ, विरोध प्रदर्शनबाट टाढै बस्छु। तर, म अझै पनि समाचारमा देखिने घटनाका कारण समातिने डरले त्रसित छु।”

पूर्वी युरोपका अर्का विद्यार्थी (नाम खुलाउन चाहेनन्), जसले हार्भर्ड स्कुल अफ पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययन सुरु गर्न लागेका छन्, १० वर्षदेखि अमेरिकामा बस्दै आएका भए पनि भिसा र सीमा प्रक्रियाप्रति उस्तै चिन्तित छन्।

ट्रम्प प्रशासनले उच्च शिक्षामा ठुला परिवर्तन ल्याउँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रत्यक्ष असर पार्ने निर्णयहरू लिएको छ।

विद्यार्थी भिसा प्रक्रिया रोक्ने वा ढिलो गर्ने। सयौँ विद्यार्थीहरूको कानुनी स्थिति खारेज गर्ने (पछि पुनः स्थापना गर्ने), ८ भिसा आवेदकहरूको सामाजिक सञ्जाल छानबिन विस्तार गर्ने, नयाँ यात्रा प्रतिबन्ध लगाउने, विश्वविद्यालय अनुसन्धानमा बजेट कटौती गर्ने, प्रो–प्यालेस्टाइन विद्यार्थी कार्यकर्ताहरूलाई पक्राउ गर्ने र केही चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा खारेज गर्ने योजनाले विद्यार्थीहरू त्रसित बनेका हुन् ।

यसै क्रममा प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना नगर्न दबाब दिएको थियो, जसले कानुनी विवाद समेत निम्त्याएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तिम शैक्षिक वर्षमा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकामा अध्ययनरत थिए, जुन कुल विद्यार्थीको करिब ६ प्रतिशत हो। तर, २०२५ मे मा गरिएको एक सर्वेक्षणले अमेरिकामा अध्ययन गर्ने चासो अन्तर्राष्ट्रिय विद्यार्थीबिच कोभिड–१९ महामारीपछिकै सबैभन्दा न्यून स्तरमा पुगेको देखायो।

नाफ्सा नामक अन्तर्राष्ट्रिय शिक्षा संस्थाले आगामी शैक्षिक वर्षमा नयाँ भर्ना ३० प्रतिशत–४० प्रतिशतले घट्ने र यसै शरद ऋतुमा कुल नामाङ्कन १५ प्रतिशतले घट्ने अनुमान गरेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकाको अर्थतन्त्रमा वार्षिक करिब ४३ अर्ब डलर योगदान गर्ने भएकाले यसले विश्वविद्यालयहरूलाई आर्थिक सङ्कटमा पार्ने चेतावनी दिइएको छ।

इरानी विद्यार्थीहरूको सपना चकनाचुर

जुन महिनामा आएको नयाँ यात्रा प्रतिबन्धले इरानी विद्यार्थीहरूलाई विशेष प्रभावित पारेको छ।

२३ वर्षीया रोमिना आय्युबी, कोलम्बिया विश्वविद्यालयको पिएचडी कार्यक्रममा भर्ना भए पनि भिसा नपाएपछि अमेरिकामा जान पाइनन्। उनले भनिन् – “मेरो साथीहरू सबै आफ्नो शैक्षिक यात्रा सुरु गर्दै छन् तर म केवल इरानी भएकै कारण अलग्गिन बाध्य छु।”

२७ वर्षीया मह्या, ओहायो स्टेट विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी थिइन्। भिसा जारी भएर घर भाडामा लिएर फ्लाइटसमेत बुक गरेकी उनले पछि दूतावासबाट भिसा अमान्य भएको सूचना पाइन्। उनले भनिन् – “यसरी मेरा सपना सबै शून्य भए।”

३६ वर्षीया डोन्या मोवाहेदी नोगानी, पुरड्यु विश्वविद्यालयको पिएचडी कार्यक्रममा भर्ना भए पनि भिसा नपाएपछि अब उनले क्यानडामा पढ्ने निर्णय गरेकी छन्।

अन्य इरानी विद्यार्थीहरूले आफूलाई “निराश” र “निरुत्साहित” भएको बताएका छन् । नाम नखुलाउने सर्तमा एक विद्यार्थीले भने – “हामीलाई केवल हाम्रो क्षमताका आधारमा मूल्याङ्कन गरियोस्, राष्ट्रियताका आधारमा होइन।” – द गार्जियनबाट 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com