गाजामा दश लाखबढी महिला र किशोरी भोक, हिंसा र उत्पीडनको चपेटामा


प्रकाशित मिति : १ भदौ २०८२, आइतबार

गाजामा करिब १० लाखभन्दा बढी महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुर्व्यवहारको जोखिममा परेको संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले चेतावनी दिएको छ।

एजेन्सीले सामाजिक सञ्जालमार्फत भन्यो– “गाजामा भोक व्यापक रूपमा फैलिएको छ। महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामै बाहिर निस्कन बाध्य छन्, जसले उनीहरूको जीवनलाई खतरामा पारेको छ।”

यूएनआरडब्लुएले इजरायली नाकाबन्दी तत्काल हटाई ठूलो मात्रामा राहत सामग्री प्रवेश गर्न दिन आग्रह गरेको छ। हाल गाजामा २० लाखभन्दा बढी मानिस बसोबास गर्छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्र कुपोषण र भोकका कारण थप ११ जनाको मृत्यु भएको छ, जसमा एक बालक समेत छन्। यससँगै भोकमरीबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन्।

इजरायली आक्रमण सुरु भएको गत वर्ष मार्चयता अहिलेसम्म ६१ हजार ८ सयभन्दा बढीको ज्यान गएको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन्।

यस्तै, गत बिहीबार १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यतादेखि गाजामा जीवनरक्षक सामग्री पुर्‍याउन अन्तर्राष्ट्रिय संस्थाहरू असफल भएको जनाएका छन्। इजरायलले सहायता वितरणमा अनुमति नदिएको र जुलाई महिनामात्रै ६० भन्दा बढी निवेदन अस्वीकृत गरिएको तथ्य सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार जुन १३ देखि जुलाई २८ सम्म राहत लिन गएका १,७६० गाजावासीको मृत्यु भएको छ। तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडी चल्ने बाटोमै मारिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com