ट्रम्प प्रशासनको नयाँ कदम : गाजावासीलाई अमेरिकामा प्रवेश रोक


प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार

अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने व्यक्तिहरूलाई दिइने भ्रमण (बी-१/बी-२) भिसा तत्काल स्थगित गरेको घोषणा गरेको छ। मन्त्रालयले भिसा रोक्ने निर्णय पूर्ण र गहिरो समीक्षा गर्नका लागि भएको बताएको छ । तर, अमेरिकाको कदमलाई प्रो-प्यालेस्टाइन समूहहरूले कडा विरोध गरेका छन्।

अमेरिकाले सन् २०२५ मा हालसम्म ३,८०० भन्दा बढी प्यालेस्टिनी प्राधिकरण (पीए) को यात्रा कागजात धारकलाई भिसा जारी गरेको छ, जसमा मे महिनामा मात्र ६४० भिसा जारी भएको छ। यी भिसा सामान्यतया अमेरिकामा उपचार खोज्ने उद्देश्यले दिइने गरिन्छ।

भ्रमण भिसा रोक्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक र अतिदक्षिणपन्थी कार्यकर्ता लौरा लूमरले यसै महिना प्यालेस्टिनी शरणार्थीहरू अमेरिकामा प्रवेश गरेको दाबी गरेपछि आएको हो। उक्त दाबीपछि रिपब्लिकन सांसदहरूले यसलाई ‘राष्ट्रिय सुरक्षा जोखिम’ भन्दै आक्रोश प्रकट गरेका छन्।

यसैबीच, अमेरिकन-इस्लामिक रिलेशन काउन्सिलले यो कदमलाई ट्रम्प प्रशासनको ‘जानाजानी गरिएको क्रूरता’ को संज्ञा दिएको छ। त्यस्तै, प्यालेस्टाइन चिल्ड्रेन रिलिफ फन्डले भिसा रोकिँदा गाजाका घाइते र बिरामी बालबालिकाले अमेरिकामा उपचार पाउने अवसर गुमाउने चेतावनी दिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १,२०० जनाको ज्यान लिएपछि सुरु भएको युद्धमा इजरायली आक्रमणले अहिलेसम्म गाजामा ६१,००० भन्दा बढीको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com