क्यानडा-अमेरिका सीमामा तीन हप्तासम्म थुनिएका न्युजील्याण्डका आमा-छोराको रिहाइ


प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार

क्यानडा-अमेरिका सीमा पार गर्ने क्रममा पक्राउ परेपछि अमेरिकी अध्यागमन केन्द्रमा तीन हप्ताभन्दा बढी समयदेखि राखिएका न्युजिल्यान्डकी एक महिला र उनको ६ वर्षीय छोरालाई रिहा गरिएको छ।

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले क्यानडा-अमेरिका सीमा पार गर्ने क्रममा पक्राउ गरी करिब ३ हप्ता दक्षिण टेक्सासको डिल्ली आप्रवासन केन्द्रमा राखेको थियो । अन्ततः ३३ वर्षीया सेरा श’ र उनका ६ वर्षीय छोरा रिहा भएका हुन् ।

शनिबार ती महिलाकी साथी भिक्टोरिया बेसानकनले छोटो अद्यावधिक सार्वजनिक गर्दै श’ र उनका छोरा सुरक्षित रूपमा घर फर्किएको जानकारी दिइन्। उनले भनिन्, “सेरा र उनका छोरा सुरक्षित घर फर्किएका छन्। परिवार केही समय आराम गरेर बस्नेछ । त्यसपछि मात्र उनीहरूले आफ्नो अनुभव सार्वजनिक गर्नेछन्।”

श’ वासिङ्टन राज्यमा तीन वर्षभन्दा बढी समयदेखि बस्दै आएकी थिइन्। २४ जुलाईमा उनले आफ्ना दुई ठूला छोराछोरीलाई भ्यानकुभर विमानस्थलमा पुर्‍याएर न्युजील्याण्डमा हजुरबुबा–हजुरआमासँग बिदा मनाउन पठाएकी थिइन्। त्यसपछि छोरासहित अमेरिका फर्कन खोज्दा उनी पक्राउ परेकी हुन्।

उनका बुबा रोड प्राइसले रेडियो न्युजील्याण्डलाई भने, “उनी फर्कन लागेकी थिइन्, तर अचानक उनले आत्तिँदै मलाई फोन गरिन्– ‘मलाई पक्राउ गरेका छन्’, ‘मबाट फोन खोस्न लागेका छन्’ र ‘आज रातभर मलाई बन्द गर्दैछन्।’”

सेराकी साथी बेसानकनले भनिन्, श’ को अनुभव “डर लाग्दो र निर्मम” थियो। “सेरालाई लाग्यो उनीलाई अपहरण गरिएको हो। सुरुमा केही स्पष्ट नभनी उनलाई र छोरालाई चुपचाप लिएर गए र नम्बर नभएको सेतो भ्यानमा राखे।”

आइसले श’को फोन जफत गरेर उनलाई र उनका छोरालाई वासिङ्टनबाट टाढा, दक्षिण टेक्सासको डिल्ली आप्रवासन केन्द्रमा पुर्‍याएको थियो ।

बेसानकनका अनुसार, डिटेन्सन सेन्टरमा श’ र उनका छोरा मात्र अंग्रेजी बोल्थे। उनीहरूलाई राति ८ बजेदेखि बिहान ८ बजेसम्म कोठामा बन्द गरिन्थ्यो र आफ्ना कपडा लगाउन अनुमति थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यो अत्यन्त पीडादायी अनुभव थियो,” बेसानकनले भनिन्।

आइसका प्रवक्ताले भने, “डिल्ली डिटेन्सन सेन्टर परिवारका लागि परिमार्जन गरिएको हो। बच्चासहितका अभिभावकलाई सुरक्षा, स्वास्थ्य र आवश्यक सेवासहित राखिन्छ।” उनले थपे, “अवैध रूपमा यहाँ रहेका अभिभावकले सरकारी एपमार्फत आफैं स्वदेश फर्कने निर्णय लिन सक्छन्।”

त्यस्तै, अमेरिकी सीमा तथा सीमा सुरक्षा निकायका प्रवक्ताले भने, “यदि कसैको पेरोल सकिएको छ र उनी देश छाडेर फर्कन खोज्छन् भने कानुनअनुसार रोक्छौं। बच्चा भएमा परिवारलाई एकैसाथ राख्ने वा कानुनी अभिभावकमार्फत हेरचाहको व्यवस्था हुन्छ।”

श’सँग “कम्बो कार्ड” भिसा थियो, जसमा उनको जागिरमार्फत प्राप्त रोजगारी भिसा र घरेलु हिंसाबाट पीडितलाई दिने आई-३६० भिसा समावेश थियो। उनले भर्खरै भिसा नवीकरण भएको पत्र पाएकी थिइन्, तर आई-३६० भिसाको प्रक्रिया अझै बाँकी रहेको थाहा पाइनन्।

बेसानकनले भनिन्, “सीमा पार गर्ने क्रममा मात्र उनलाई थाहा भयो कि कम्बो कार्डको आधा हिस्सा मात्र स्वीकृत भएको रहेछ, यद्यपि त्यो एउटै कार्डमा देखिन्छ।”

श’को घटना पछिल्लो समय अमेरिकी सीमामा विदेशीहरूले झेल्नुपरेको सोधपुछ, थुनाइ र निर्वासनका उदाहरणहरूमध्ये एक हो। यसअघि एक बेलायती पर्यटक, तीन जर्मन नागरिक, एक क्यानाडेली र एक अष्ट्रेलियाली समेत वैध कार्य भिसा हुँदाहुँदै पक्राउ परेर देश निकाला भएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com