रूसी राष्ट्रपति पुटिनसँगको वार्तामा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प अलास्का प्रस्थान


प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार अलास्का प्रस्थान गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि उनी अलास्का प्रस्थान गरेका हुन् । बैठकमा दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा घातक युद्धको रूपमा चिनिएको युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित युद्धविरामबारे छलफल हुने अपेक्षा गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई यस वार्तामा समावेश गरिएको छैन। उनी र उनका युरोपेली सहयोगीहरूलाई ट्रम्पले युद्धलाई स्थिर पार्दै युक्रेनको पाँचौँ भागमाथि रूसी नियन्त्रणलाई अप्रत्यक्ष रूपमा मान्यता दिन सक्ने आशंका छ । तर, ट्रम्पले युक्रेनको भौगोलिक सीमासम्बन्धी निर्णय उनीहरूको आफ्नै अधिकारमा हुने भन्दै चिन्ता हटाउने प्रयास गरेका छन्।

शीतयुद्धकालीन वायुसेना आधारमा हुने यो भेट अमेरिकी र रूसी नेताबीच २०२१ पछि पहिलो प्रत्यक्ष बैठक हो। ट्रम्पले यस युद्धलाई “रक्तपात” भन्दै तत्काल युद्धविराम चाहेको बताएका छन्। उनले यस सफल भएमा तुरुन्तै युक्रेनका राष्ट्रपति जेलिन्स्कीलाई समेटेर त्रिपक्षीय बैठक गर्ने योजना पनि बताएका छन्।

पुटिनका लागि भने यो बैठक पश्चिमी देशहरूले रुसलाई अलग गर्ने वर्षौँको प्रयास असफल भएको प्रमाणका रूपमा प्रस्तुत गर्ने अवसर भएको विश्लेषण गरिन्छ।

बैठक अलास्का समय अनुसार बिहान ११ बजे सुरु हुने तय गरिएको छ। यसअघि ट्रम्पले २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने दाबी गरे पनि उनले हाल यो अपेक्षाभन्दा कठिन भएको स्वीकार गरेका छन्।

जेलिन्स्कीले भने टेलिग्राममार्फत सन्देश दिँदै “अब युद्ध अन्त्य गर्ने समय आएको” बताउँदै ट्रम्प–पुटिन बैठकले न्यायपूर्ण शान्तिको बाटो खोल्ने अपेक्षा गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com