जेलमा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपतिकी श्रीमती घूस लिएको आरोपमा पक्राउ


प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम क्योन–हीलाई सेयर हेरफेर र घूससहितका विभिन्न आरोपमा पक्राउ गरिएको छ। उनका पति, पूर्व राष्ट्रपति युन सुक–योल भने पहिल्यै जेलमा छन्।

पूर्व प्रथम महिला किमले सियोलमा भएको चार घण्टे अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरिन्। तर, अदालतले प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै उनलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो।

दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरूलाई अभियोग लगाई जेल पठाउने इतिहास छ। तर, पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवै जेलमा परेको भने यो पहिलो घटना हो।

युनलाई गत जनवरीमा असफल सैनिक शासन (मार्शल ल) को प्रयासको आरोपमा पक्राउ गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियोजन पक्षका अनुसार ५२ वर्षीया किमले डच मोटर्स (दक्षिण कोरियामा बीएमडब्ल्यू डिलर) को सेयर मूल्य हेरफेरमा संलग्न भई ५ लाख ७७ हजार ९४० अमेरिकी डलर नाफा कमाएकी थिइन्।

यो आरोप उनका पति राष्ट्रपति बन्नुअघि लागेको भए पनि यसले उनको कार्यकालभरि छायाँ पारेको थियो।

उनले विवादास्पद युनिफिकेशन चर्चबाट व्यापारिक लाभको सटहीमा दुईवटा च्यानल ब्याग र हीराको हार घूसका रूपमा लिएको आरोप पनि छ।

अन्य आरोपमा किममाथि २०२२ को संसदीय उपनिर्वाचन र गत वर्षको आमनिर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप गरेको दाबी गरिएको छ।

सुनुवाइमा किम कालो कोट र कालो स्कर्ट लगाएर गम्भीर मुद्रामा देखिएकी थिइन्। पत्रकारहरूसँग उनले भनिन्, “म महत्त्वपूर्ण व्यक्ति नभए पनि समस्या उत्पन्न गरेकोमा हार्दिक माफी चाहन्छु।”

राष्ट्रपति हुँदा युनले किममाथि विशेष अभियोजकको छानबिन गर्ने विपक्षी दलले ल्याएका तीन विधेयकलाई भिटो गरेका थिए। उनले अन्तिम भिटो गत नोभेम्बरमा, मार्शल ल’ घोषणा गर्नुअघि एक हप्तामै दिएका थिए।

यो वर्ष जुनमा, युनका राजनीतिक प्रतिद्वन्द्वी ली जे–म्युङ राष्ट्रपति बनेपछि विशेष अभियोजकको कार्यालय गठन गरिएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com