न्यूजर्सी केन्द्रबिन्दु भएर ३.० म्याग्निच्युडको भूकम्प, न्यूयोर्क मेट्रो क्षेत्रमा पनि झट्का महसुस


प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार

शनिबार राति न्यूयोर्क मेट्रो क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार राति १० : १८ बजे न्यूजर्सीको ह्यासब्रुक हाइट्स केन्द्रबिन्दु भएर ३ दशमलव ० म्याग्निच्युडको भूकम्प गएको हो।

यूएसजीएसका भूगर्भविद जोनाथन टाइटेलका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको र यसले मानवीय तथा संरचनात्मक क्षति भने नगरेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। न्यूयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्टले पनि तत्काल कुनै ठूलो असर नदेखिएको जनाउँदै केही स्थानहरूमा झट्का महसुस भएको हुनसक्ने बताएको छ।

एजेन्सीले नागरिकहरूलाई पराकम्पका लागि तयार रहन आग्रह गर्दै आफ्नो घर वा वरपरका क्षेत्रमा वस्तुहरू हल्लिएको, चिरा परेको वा टुक्रा झरेको जस्ता जोखिमहरूको जाँच गर्न अनुरोध गरेको छ।

यसैबीच, न्यूयोर्क सहरको प्रसिद्ध भवन एम्पायर स्टेट बिल्डिङले एक्समार्फत “आइ एम फाइन” लेख्दै सुरक्षाबारे जानकारी दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टाइटेलले यो भूकम्प रूसमा गएको हालको ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पको तुलनामा निकै कम खतरनाक रहेको स्पष्ट पारे । साथै, अप्रिल २०२४ मा यही क्षेत्रमा गएको ४ दशमलव ८ म्याग्निच्युडको भूकम्पको पराकम्प पनि नभएको उनले बताए।

उनका अनुसार आगामी दिनमा १ दशमलव ० म्याग्निच्युडसम्मका साना पराकम्पहरू आउन सक्ने सम्भावना भए पनि ठूलो खतरा छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com