अमेरिकी पहलपछि कम्बोडिया र थाइल्याण्ड शान्ति वार्ताका लागि तयार
प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार
कम्बोडिया र थाइल्याण्डका नेताहरू वार्ताका लागि तयार भएका छन । उनीहरुले सीमा क्षेत्रमा भइरहेको हिंसात्मक झडपलाई अन्त्य गर्न वार्ताका लागि भेट गर्ने सहमति जनाएका हुन ।
दुबै देश तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार युद्धविरामको प्रयासमा यो सहमति भएको हो ।
ट्रम्पले कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईसँग कुरा गरेको बताएका छन् । शान्ति स्थापना गर्ने आफ्नो पहल अन्तर्गत ट्रम्पले दुबै नेतालाई वार्तामा ल्याएका हुन् ।
ट्रुथ सोसलमा लेखिएको पोस्टहरूमा ट्रम्पले भने, “उनीहरू तत्काल भेट गर्ने र छिट्टै युद्धविराम र अन्ततः शान्ति कायम गर्ने सहमतिमा पुगेका छन् ” ।
ट्रम्पले यदि सीमा झडप जारी रह्यो भने उनले दुबै देशसँग कुनै पनि व्यापार सम्झौता नगर्ने चेतावनी दिएका छन् । उनीहरू अमेरिकासँग पुनः व्यापार वार्ता गर्न चाहन्छन भने पहिला युद्ध रोकिनु पर्दछ उनले भनेका छन ।
यसअघि जुलाईको सुरुमा ट्रम्पले थाइल्याण्ड र कम्बोडियालाई पत्र पठाएर १ अगस्टदेखि लागू हुने ३६ प्रतिशत आयात कर लगाउने चेतावनी दिएका थिए । त्यसपछि दुबै देशले अमेरिकी पक्षसँग व्यापार सम्झौताका लागि महत्वपूर्ण प्रस्तावहरू दिए अधिकारीहरूले बताएका छन ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले ट्रम्पलाई धन्यवाद दिँदै ‘दुबै सशस्त्र फौजबीच तत्काल र बिना शर्त युद्धविरामको प्रस्तावमा सहमति’ जनाएका छन् ।
थाइल्याण्डको विदेश मन्त्रालयले ‘कम्बोडियाको तर्फबाट सत्यनिष्ठा’ देख्न चाहेको बताएको छ ।
थाइल्याण्ड र कम्बोडियाबीचको यो झडप लामो समयदेखि चलिरहेको सिमा विवादसँग सम्बन्धित हो । जुन फ्रेन्च उपनिवेशकालीन सीमांकनपछि उत्पन्न भएको हो।
बिहीबारदेखि सुरु भएको झडपमा अहिलेसम्म एक दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ । दर्जनौं घाइते भएका छन ।
१ लाख ५० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले यस हिंसाको निन्दा गरेको छ ।






