विमान दुर्घटनाबाट कसरी जोगियो ५५ यात्रुको ज्यान ?
प्रकाशित मिति : माघ २७, २०८२ मंगलबार
फोटो:अबदल्ला एमीर/अनस्प्ल्यास
सोमालियामा एक पाइलटले ५५ यात्रुको ज्यान जोगाएका छन्। प्राविधिक खराबी देखिएपछि यात्रुवाहक विमानलाई राजधानी मोगादिसुको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको समुद्री किनारमा आपतकालीन अवतरण गराएर ती विमान चालकले विमानमा सवार सबै ५५ जनाको ज्यान जोगाएका हुन्।
स्टार्स्की एभिएसनले पाइलटको छिटो र शान्त निर्णय क्षमताले ५० यात्रु र पाँच जना चालक दलका सदस्यको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ।
मङ्गलबार बिहान मोगादिसुबाट उडान भरेको फोकर ५० विमानका चालक दलले उडान भरेको केही समयपछि समस्या देखिएको थियो। विमानमा समस्या आएपछि चालकले विमानलाई पुनः मोगादिसु फर्काउन अनुमति मागेका थिए।
सोमालियाको नागरिक उड्डयन प्राधिकरणका निर्देशक अहमद मकालिन हसनका अनुसार विमान अवतरण गर्ने क्रममा रनवेमा रोक्न नसक्दा धावनमार्ग पार गर्दै समुद्रको किनारको पानीमा पुगेर रोकिएको थियो।
विमान पुन्टल्यान्ड जाँदै थियो। विमानमा प्राविधिक समस्या के थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन।
सामाजिक सञ्जाल एक्स मा पोस्ट गरिएको भिडियोमा यात्रुहरू विमानबाट बाहिर निस्केर हिन्द महासागरको किनारमा रहेको दुर्घटनाग्रस्त विमानबाट टाढा हिँड्दै गरेको देखिन्छ।
सोमालियामा रहेको अफ्रिकी संघको मिसनले संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका सैनिकहरूलाई उद्धार कार्यका लागि तुरुन्त परिचालन गरिएको जनाएको छ।
विमानको आपतकालीन अवतरणको कारण पत्ता लगाउन प्राविधिक समस्याबारे छानबिन भइरहेको छ।






